अन्तरवार्ता

जनजाति महासंघ कुनै राजनीतिक दलको घेराबन्दीमा रहन सक्दैन

लुईसाङ वाईवा तामाङ
अध्यक्ष, आदिवासी जनजाति महासंघ, अमेरिका

आदिवासी जनजाति महासंघ, अमेरिकाले न्याय र स्वतन्त्रताको पक्षमा विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । विभिन्न जातीय संगठनको साझा संस्था महासंघले आफ्नो उद्देश्य अनुसारको गतिविधि ठोस रुपमा अघि बढाउन नसकेको पनि आरोप लाग्ने गरेको छ । यसै सेरोफेरोमा रहेर महासंघको अध्यक्ष लुईसाङ वाईवा तामाङसँग प्रधान सम्पादक गोकुल श्रेष्ठले गरेको संक्षित कुराकानी ।
 

अमेरिकामा आदिवासी जनजाति महासंघको सार्थकता के हो ?
हामी जहाँ रहे पनि नेपालको आदिवासी जनजाति आन्दोलनलाई सधै सहयोग र समर्थन गर्नुपर्छ भन्ने आशयमा अमेरिकामा पनि महासंघ गठन भएको हो । नेपालका आदिवासी जनजातिहरुको अधिकार सुनिश्चितताको लागि हाम्रो नैतिक समर्थन प्रवासबाट पनि रहन्छ र रहिरहनेछ ।  

महासंघमा संस्थाभन्दा बढि व्यक्ति हावी भयो भन्ने आरोपलाई के भन्नु हुन्छ ?
मैले त्यस्तो आरोप सुनेको छैन, आजसम्म । यदि कसैले त्यसो भन्छन् भने त्यो सांगठनिक अल्पज्ञान हो । महासंघको निश्चित संरचनाहरु छन्, विधि विधान छ र सोहिअनुसारको  म्यान्डेट पनि छ । म्यान्डेटअनुसार नेतृत्व गर्नु भनेको व्यक्ति हावी होइन ।    

महासंघले जनजातिको अधिकार रक्षाका लागि अहिलेसम्म गरेका ठोस काम के के हुन् ?
महासंघले यहाँबाट गर्न सक्ने पर्याप्त कार्यहरु सम्पन्न गरेका छौं, हामीले । जस्तैः महासंघले आदिवासी जनजातिहरुको अधिकारलाई सुनिश्चत गर्न आवश्यकताअनुसार नेपाल सरकारलाई खबरदारी गरेको छ । आदिवासी जनजातिहरुलाई समसामयिक बिषयबस्तुमा बेलाबखतमा स्थानीय तहमा प्रशिक्षण एवं जानकारी गराएकाछौं । संयुक्त राष्ट्रसंघमार्फत अन्तरराष्ट्रिय मञ्चमा समेत महासंघले उपस्थिति जनाउँदै आदिवासी जनजातिको सरोकारको विषयमा वकालत गर्दै आएकोछ । बिगतमा नयाँ संविधान निर्माण गर्ने क्रममा आदिवासी जनजाति मैत्री संविधान बनाउन अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेका छौं र अभियानमा संग्लग्न छौं ।         

तपाई यो दोस्रो कार्यकालमा हुनुहुन्छ, यो कार्यकाल पनि पुरानै निरन्तरता हो वा कुनै ठोस योजना बनाउनु भएको छ ?
मैले भन्ने गरेको छु, अवको आदिवासी जनजाति आन्दोलन विगतको भन्दा नितान्त भिन्न खालको हुनुपर्छ । पुरातन शैलीमा गरिने आन्दोलनलाई अब कसैले स्वीकार गर्दैनन् र त्यसको कुनै महत्व पनि छैन । अबको आन्दोलन वैचारिक रुपमा संस्थागत गर्दै सोहि अनुसार रणनीतिक हुनुपर्छ । सारा विश्वले स्वीकार गर्न सक्ने अवको आन्दोलनको स्वरूप हुनुपर्छ । अर्थात् आदिवासी जनजाति आन्दोलन अब नागरिक आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै यसलाई संस्थागत गर्नुपर्छ । त्यसैले मेरो दोश्रो कार्यकाल बिगतको निरन्तरता नभएर आदिवासी जनजाति आन्दोलनलाई वैचारिक रुपमा संस्थागत गर्ने र सामाजिक न्यायको आधारमा सर्वस्वीकार्य आन्दोलनको स्वरुपमा अगाडी बढाउने योजना रहेको छ । 

सांगठनिक रुपमा महासंघ दलीय घेराभन्दा माथि उठ्न सकेको छैन भन्ने आरोपलाई के भन्नुहुन्छ ?
यो नितान्त संकीर्ण पुरातन सोंच हो । महासंघ कुनै राजनीतिक दलको भातृ संगठन होइन । महासंघमा राजनीतिक दलका कार्यकर्ताले नेतृत्व लिन सक्छन् तर दलीय कार्यकर्ताले नेतृत्व लिदैमा महासंघ सम्बन्धित दलको घेराबन्दीमा रहन सक्दैन किन भने महासंघको आफ्नै किसिमको संरचना, कार्यविधि र उद्देश्य छन् । अनि अर्को यथार्थ, महासंघले राजनीतिक दल जस्तै आफ्नै कार्यकर्ता उत्पादन गर्दैन यसले मात्र राजनीतिक एवं सामाजिक न्यायको सचेतनाको लागि समाजभित्र तथा तिनै राजनीतिक दलका कार्यकर्तालाई सामाजिक न्यायको सिद्दान्तमा आधारित सशक्तिकरण गर्ने हो । राजनीतिक दल र नागरिक समाजसँग वकालत र सहकार्यमार्फत आफ्नो उद्देश्य पूर्ति गर्छ । त्यसैले राजनीतिक दलसँगको सामिप्यता र सहकार्यलाई दलीय घेराबन्दी भन्नु हास्यास्पद हुन्छ ।

(न्यूयोर्क समाचारको वर्ष १, अंक १ २०७३ जेठ १ गते    2016 May 14 प्रकाशित)