खेलकुद

बेललाई रियलमै राख्न नयाँ सम्झौता

स्पेन । रियाल म्याड्रिडले स्टार खेलाडी ग्यारेथ बेलसँगको सम्झौतालाई लब्म्याउने इच्छा देखाएको छ । पछिल्लो समय राम्रो खेल देखाइरहेका बेललाइ क्लबमा राख्न रियलले नयाँ करार अफर गर्ने तयारी गरेको छ ।
बेललाई म्यानचेस्टर युनाइटेडले क्लबमा भित्र्याउन चाहेको छ । उनले अहिले प्रतिसाता ३ लाख पाउन्ड रियाल म्याड्रिडबाट लिन्छन् । उनको म्याड्रिडसँगको सम्झौता अवधि ३ वर्ष बाँकी छदैँ म्याड्रिडले थप दुई वर्षका लागि सम्झौता गर्न लागेको हो ।
वेल्सका बेल ला–लिगाको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने बेलायती खेलाडी हुन् । २६ वर्षिय बेलले बार्सिलोनाबाट खेल्ने पुराना बेलायती खेलाडी ग्यारी लिनेकरले गरेको ४२ गोलको संख्यालाई तोड्दै स्पेनिस लिगमा आफ्नो गोलसंख्या ४३ पुर्याएका छन् ।
स्पेनमा समर्थकहरुले आशा गरेजस्तो प्रदर्शन गर्न नसकेपनि बेल रियालका प्रमुख खेलाडी हुन् । त्यसैले उनी अन्यत्र जानसक्ने खतरा मोल्न म्याड्रिड चाहन्न । म्यानचेष्टर युनाइटेड, चेल्सी, म्यानचेस्टर सिटी , बार्यन म्युनिख र पेरिस सेन्ट जर्माइनले अहिले बेललाई भित्र्याउन चाहेका छन् ।
तर रियालका अध्यक्ष फियोरेन्टिनो पेरेज उनलाई क्लबमै राख्न चाहन्छन् । म्याड्रिडले चेल्सीबाट इडेन हाजार्डलाई क्लबमा भित्र्याउन चाहेको छ । त्यसका लागि आवश्यक परे इस्को र जेम्स रोड्रिग्वेजलाई बेच्न म्याड्रिड इच्छुक छ । बेलले यस सिजन ला–लिगामा १६ खेल खेल्दै १५ गोल गरेका छन् ।