समाचार

न्यूयोर्कमा मनाईयो विश्व नेवाः दिवस

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कले छैठौ विश्व नेवाः दिवस मनाएको छ । शनिबार न्यूयोर्कको ज्याक्सन हाईट्समा आयोजना गरिएको कार्यक्रममा गुठीले प्रकाशन गरेको पहिलो स्मारिकासमेत विमोचन गरिएको थियो । 
गुठीका अध्यक्ष विजयमान सिं को अध्यक्षता र नेपाली महावाणिज्य दुतावास न्यूयोर्कका कार्यवहाक महावाणिज्य दुत विष्णु प्रसाद गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा न्यूयोर्क राज्यका सिनेटर जेसिका रामोस, एसेम्व्ली मेम्बर स्टेभन रागा, न्यूयोर्क सिटीका प्रतिनिधिहरु लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । नेवाः संस्कृति झल्किने विविध सांस्कृतिक कार्यक्रमसहित मनाईएको विश्व नेवाः दिवस कार्यक्रममा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, पूर्व अध्यक्ष समिर महर्जन र धर्मेन्द्र गोपालीले विशेष मन्तव्य राख्नुभएको थियो भने नेपालका लागि पर्यटन दुत केशवराम राईलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कविना महर्जन सिंह र सम्राट सिंहले सञ्चालन गरेको कार्यक्रममा गुठीका उपाध्यक्ष राजेन्द्र महर्जनले अतिथिहरुलाई स्वागत गर्नुभएको थियो । न्यूयोर्कमा गठन भएको नेवाः युथ कार्यक्रमका श्रेया तुलाधर र समिया महर्जनले नेवाः संस्कृति, भाषा र परम्परा जोगाउन सुरु गरिएको अभियानबारे प्रष्ट पार्नुभएको थियो । १५ वर्षदेखि ३० वर्ष उमेर समुहका नेवाः युवाहरुलाई समेटेर बनाईएको यो अभियानमा सहभागिताका लागि नेवाः युथहरुलाई आव्हान समेत गरिएको छ । त्यस्तै कार्यक्रममा स्वनिया महर्जनले नेवारी नृत्य गर्नु भएको थियो भने सिर्जना तुलाधर, लक्ष्मी श्रेष्ठ र हृदय तुलाधरले कविता वाचन गर्नु भएको थियो ।
कार्यक्रममा न्यूयोर्क राज्य तथा स्थानीय तहका पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । त्यस्तै नेवाः संस्कृति, परम्परा र भाषाको क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
नेवाः संस्कृति, परम्परा र भाषा संरक्ष, प्रवद्र्धन एवं पुस्तान्तरणका लागि नेवाः गुठी न्यूयोर्क सधै क्रियाशिल भएको भन्दै अध्यक्ष विजयमान सिं ले गुठीले प्रकाशन गरेको स्मारिकामा धेरै कुरा समेटिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा राज्य तथा स्थानीय सरकारसंगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाईरहेको जानकारी दिनुभयो ।