समाचार

चौथो विश्व नेवाः सम्मेलनको भव्य तयारी

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा अगष्ट ५ बाट चौथो विश्व नेवाः सम्मेलनको भव्य तयारी गरिएको छ । नेवाः गुठी न्यूयोर्क र वल्र्ड नेवाः अर्गनाईजेशन, अमेरिका च्याप्टरको संयुक्त आयोजनामा यो सम्मेलन गर्न लागिएको हो । तीन दिन सम्म हुने सम्मेलनमा विश्वभरबाट नेवाः समुदायका अगुवाहरुको सहभागिता हुने भएको छ । 

सम्मेलनलाई सफल बनाउन आयोजकले सम्पूर्ण तयारी पूरा भएको छ । सम्मेलनमा नेपालबाट वरिष्ट कलाकार मदन कृष्ण श्रेष्ठ आईसक्नु भएको छ भने अन्य अतिथिहरुको आउनेक्रम जारी छ । सम्मेलनमा नेवारी कला नृत्य, भेषभुषा, खाना परिकार, साँस्कृतिक झाँकी, धिमे बाजा, लाखे नाच तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु रहने नेवाः गुठी न्यूयोर्कका अध्यक्ष विजयमान सिं ले बताउनु भयो ।
विश्वभर छरिएर रहेका नेवाःहरुलाई एकिकृत एवं संगठित गरि नेवाः भाषा, संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धन गर्दै समुदायको हितका पक्षमा कार्य गर्नका लागि सन् २०१६ मा यो संस्थाको स्थापना भएको हो । नेपालको बहुसांस्कृति, बहुभाषिक एवं सांस्कृतिक पहिचानको मूल प्रर्यायसँग जोडिएको नेवाः कला, संस्कृति एवं परम्परालाई निरन्तरता दिंदै पुस्तान्तरण गर्नु यसले आफ्नो दायित्व ठानेको छ ।
सम्मेलनले अमेरिकाभर छरिएर रहेका नेवारहरुलाई एकतावद्ध गराउँदै संस्कृतिसंग भावनात्मक सामिप्यता कायम राख्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा आयोजकले गरेका छन् ।