समाचार

मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभाको तयारी पूरा

मगर संघ अमेरिका केन्द्रीय समितिको ऐतिहासिक आठौं बार्षिक साधारणसभा यहि सनिवार अगस्ट ६, २०२२ को दिन टेक्सास राज्यको डलास शहरमा हुने भएको छ । मगरहरुको बाहुल्य रहेको अमेरिकाको विभिन्न १२ राज्यका मगरहरुको जमघट टेक्सास राज्यमा हुने र सभाको सम्पुर्ण तयारी पूरा भएको मगर संघ अमेरिका केन्द्रिय समितिका अध्यक्ष कुलदिप राना मगरले जानकारी गराउनु भयो । 

मगर संघ अमेरिका केन्द्रीय समितिको आयोजना र मगर संघ अमेरिका टेक्सास च्याप्टरको संयोजनमा सभा हुन लागेको हो । प्राय न्युयोर्क , न्युजर्शी र मेरिल्याण्ड आसपासमा मगर संघ अमेरिकाले अधिबेशन र साधारणसभा गर्दै आएको भएता पनि इतिहासमा पहिलो पटक टेक्सास राज्यमा पाइला टेकेर अमेरिका भर "मगर संघ अमेरिका" फैलिएको र अमेरिका भर छारिएर रहेका मगरहरुको एकताको सन्देश दिन खोजिएको उहाँले बताउनु भयो । "अमेरिकाको मुलप्रबाहमा मगरहरुको उपस्थिति र सहभागिता - उदाउँदो मगर पुस्ता माझ मगर भाषा, संस्कार र संस्कृति हस्तान्तरण आजको आवश्यकता" भन्ने मुल नाराका साथ मगर संघ अमेरिकाको आठौं बार्षिक साधारणसभा सम्पन्न हुने भएको छ । 

बिगत एकदशक देखि मगर समुदाय माझ चर्चाको बिषय बनेको MAGAR EMERGENCY FUND लाई मुर्तरुप दिएर साधारणसभामा लन्च गरिने भएको छ । यसबाट आइन्दा विभिन्न आपत बिपत्तिको बेला मगर समुदाय लाभान्वित हुनेछन । यसैगरी मगर विद्यार्थीहरुलाई हौसला र प्रोत्साहन , संस्था प्रति बिद्यार्थीको आकर्षण बढाउने हेतुले पहिलो पटक तीन तहका उत्कृष्ट मगर बिद्यार्थीहरुलाई Magar Student Scholarship प्रदान गर्न लागिएको र हरेक बर्ष निरन्तरता रहने जनाइएको छ । नेपाल आदिवासी जनजाती अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मन बहादुर राना मगरको प्रमुख आतिथ्य र City of Euless टेक्सास राज्यका काउन्सिल मेम्बर टीका पौडेलको विशेष अतिथिमा कार्यक्रमको समुदघाटन हुने जानकारी दिएका छन । म मगर र मेरो मगर संघ भनी संस्था प्रती सदैव उत्तरदायी रहेर काम गरिरहेका विभिन्न बिधामा पोख्त मगर बुद्धिजीवीहरुलाई टेक्सासको सुन्दर शहरमा डलासमा स्वागत गर्न पाउनु भनेको टेक्सास च्याप्टरको लागि गर्बको कुरा भएको मगर संघ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष भुवन सिंह आले मगरले बताउनु भयो । समुदघाटन समारोह, बन्द सत्र र सांस्कृतिक कार्यक्रम गरी तीन चरणको कार्यक्रमको रुपरेखा मगर संघ अमेरिका केन्द्रीय समितिका महासचिव दिप सागर बुढा मगरले सार्बजनिक गर्नु भएको छ ।