समाचार

नेवाः गुठी न्यूयोर्कको आयोजनामा न्यूयोर्कमा भिन्तुना र्याली र म्हः पूजा सम्पन्न

न्यूयोर्क । नेवाः गुठी न्यूयोर्कको आयोजनामा न्यूयोर्कको ज्याक्सन हाईट्समा भिन्तुना र्याली गरीएको छ । नेपाल सम्बत ११४२ को अवसरमा यो कार्यक्रम गरिएको हो । नयाँ वर्षको शुभकामना सहित नेपाल सम्बतलाई चलन चल्तीको रुपमा सुरु गर्नु पर्ने भन्दै गुठीले र्याली सहितको कार्यक्रम गरेको हो । ज्याक्सन हाईट्सको डाइभर्सिटी प्लाजाबाट सुरु भएको र्यालीले विभिन्न बाजागाजा र नाचगान सहित नगर परिक्रमा गरेको हो । र्यालीमा न्हुँ दया भिन्तुना अर्थात नयाँ वर्षको शुभकामना आदान प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि कन्सुलर गणेश प्रसाद अधिकारीको विशेष उपस्थिति रहेको थियो भने न्यूयोर्कमा रहेका नेवार समुदायका अनुवाका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।  
र्याली पछि आयोजित सभालाई विभिन्न वक्ताहरुले सम्बोधन गरी नयाँ वर्षको शुभकामना दिएका थिए । गुठीले प्रत्यक वर्ष नयाँ वर्षको अवसरमा भिन्तुना र्याली गर्दै आएको छ ।
त्यस्तै कोरोना महामारीका कारण सार्वजनिक आव्हान रहित म्हः पूजा पनि सम्पन्न गरिएको छ । गुठीका सदस्य तथा विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुलाई मात्र सहभागि गराईएको म्हः पूजामा विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । विगतका वर्षहरुमा जस्तै सार्वजनिक रुपमा कार्यक्रम आयोजना गर्ने चाहना हुँदा हुँदै पनि महामारीका कारण सिमित गर्नु परेको प्रति अध्यक्ष विजयमान सिंहले दुःख व्यक्त गर्नु भयो । उहाँले भिन्तुना र्याली एवं म्हः पूजा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णलाई धन्यवाद पनि व्यक्त गर्नुभयो । उहाँले नेवाः गुठी न्यूयोर्क आफ्नो भाषा, कला, संस्कृति एवं परम्परा रक्षाका लागि सधै अग्रपंतिमा रहेको पनि बताउनु भयो ।
म्हः पूजामा नेवारी समुदायले स्वस्थ, सक्षम र आत्मा तथा शरीरको शुद्धिकरणको कामना गर्दै आफ्नो शरीरको पूजा आफै गर्ने परम्परा छ ।

थप तस्विरका लागि यहाँ क्लिक गर्नुहोला ।