समाचार

निफ अवार्डमा नेवारी चलचित्र जा मन गुभाजु बन्यो उत्कृष्ठ

न्यूयोर्क । नेवारी भाषाको चलचित्र जा मन गुभाजु नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ) को उपाधि जित्न सफल भएको छ ।
अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गते सम्म भएको चलचित्र महोत्सवमा विभिन्न भाषाका सातवतट चलचित्रहरुलाई पछि पार्दै जा मन गुभाजुले उपाधि जित्न सफल भएको हो । यसले उत्कृष्ट अवार्डसंगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ । पुरस्कृत नेवारी चलचित्रले अवार्डसहिस १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जेतेको छ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।
अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहित विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगरभाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले अवार्ड जितेकी छिन भने लिम्बु जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ । यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।
फिप्नाले २०१७ देखि यो महोत्सव सुरु गरेको हो भने यो तेश्रो आदिवासी चलचित्र महोत्सव हो । विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले खेलकुद, सास्कृतिक कार्यक्रम सँगै चलचित्र महोत्सव गरेको हो । नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै नेपालका आदिवासी चलचित्रहरु जो मूलधार र राज्य हतोत्साहित भएका छन्, ती चलचित्रहरुलाई अन्तराष्ट्रिय बजारमा पुर्याउँदै प्रोत्साहन गर्ने उद्देश्य फिप्नाले लिएको छ ।
क्वीन्सको गुल्सन टेरेशमा भव्य समारोहबीच गरिएको अवार्ड वितरण कार्यक्रममा आफ्नो भेषभुषा सहित विभिन्न जातजातिका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न जातजातिको कला र संस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायक राजु लामा र जगदिस समालको विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिंदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताउनु भयो ।
कार्यक्रमको पहिलो र दोश्रो दिन छनौटमा परेका चलचित्रहरु प्रदर्शनमा राखिएको थियो । जसमा न्यूयोर्कमा रहेका नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।