समाचार

अमेरिकाको न्यूयोर्कमा भव्य बन्यो 'नेपाल डे'

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा 'नेपाल डे' विशेष रुपमा मनाईएको छ । न्यूयोर्क राज्य विधान सभाले गत साता मात्र नेपालको गणतन्त्र दिवसलाई 'नेपाली अमेरिकन हेरिटेज डे' अर्थात 'नेपाल डे' को रुपमा प्रत्येक वर्ष मनाउने घोषणा गरेको हो । न्यूयोर्क राज्यले प्रत्येक वर्षको मे २९ लाई नेपाल डे को रुपमा मनाउने भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा सम्पन्न गरिएको 'नेपाल डे' कार्यक्रममा न्यूयोर्कमा क्रियाशिल सबैजसो संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । विभिन्न नेपाली जातजातिका पोशाक र वाजागाजा सहित उपस्थित भएका नेपाली अमेरिकन सहभागिहरुले नगर परिक्रमा गरेका थिए । र्याली पछि आयोजित विशेष कार्यक्रममा न्यूयोर्क राज्य विधानसभा सदस्य जेनिफर राजकुमार, जेफ्रिन ओब्रि र नेपाली महावाणिज्य दुतावास, न्यूयोर्कका कार्यवाहक महावाणिज्यदुत विष्णु प्रसाद गौतमको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा विधानसभा सदस्य जेनिफरले फिप्नाका अध्यक्ष लोक चेम्जोङ र महावाणिज्यदुत गौतमलाई न्यूयोर्क राज्यले पारित गरेको नेपाली अमेरिकन हेरिटेज डे को रिजोलुसन हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै जेनिफरले नेपाली अमेरिकन समुदायको सम्मान एवं पहिचानका लागि राज्य सरकारले ऐतिहासिक नेपाल डे घोषणा गरेको जानकारी दिनु भयो । उहाँले नेपाली अमेरिकनहरुका कला, संस्कृति एवं परम्परा रक्षाका लागि राज्य सरकार सधै सकारात्मक रहेको भन्दै सिंगो अमेरिकाले यसलाई अंगाल्नेमा आफु आशावादी भएको बताउनु भयो ।
त्यस्तै महावाणिज्यदुत गौतमले न्यूयोर्क राज्य सरकारले गरेको घोषणाले दूई देशबीचको आपासी सम्पन्धलाई थप गाढा बनाउने भन्दै नेपाल सरकार अमेरिकासँगको दुई पक्षिय हितका लागि सधै सहकार्य गर्न तयार रहेको बताउनु भयो । कार्यक्रममा दुबै पक्षबाट मायाको चिनो साटासाट गरिएको थियो ।
कार्यक्रममा न्यूयोर्क राज्यसभाको तर्फबाट फिप्नाका अध्यक्ष लोक चेम्जोङ, महासचिव नरेन्द्र थापालाई सम्मान गरिएको थियो । त्यस्तै नेपाल डे घोषणाका लागि विशेष पहल गर्ने दिपेन्द्र लामा, आरती मगर र सजिना श्रेष्ठलाई पनि राज्य सभा सदस्य जेनिफरले सम्मान पत्र प्रदान गर्नुभएको थियो ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिव चार लाखको हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ । त्यसमध्ये अधिकांश नेपालीहरु न्यूयोर्क राज्यमा बस्ने गरेको विभिन्न तथ्यांकले देखाएको छ ।
न्यूयोर्कमा नेपाली पहिचानका लागि नेपाल डे परेड भने २०१६ देखि गर्न सुरु गरिएको थियो । न्यूयोर्क सिटीले यसलाई मान्यता दिएको भए पनि अहिले भने राज्यसभाले नै यसलाई मान्यता दिएको हो । आउँदो वर्ष देखि नेपाल डे फिप्ना र एनआरएनए न्यूयोर्क शाखाको आयोजनामा परेड सहितको विशेष कार्यक्रम न्यूयोर्क शहरमा मनाईने भएको छ ।