समाचार

न्यूयोर्कमा भव्य बन्यो सोनाम ल्होछार

न्यूयोर्क । तामाङ समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा सोनाम ल्होछार विशेष रुपमा सम्पन्न भएको छ । समाजले यही फेब्रअरी २ तारिख शनिबारको दिन न्यूयोर्कको ज्याक्सन हाईट्समा २८५५ औँ सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम सहित सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदुत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यता रहेको थियो भने न्युयोर्क शहरका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथि थिए । प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेको भन्दै समाजको प्रशंसा गरे । दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गर्ने कार्यक्रम तामाङ समाज अमेरिकाले संचालन गरेर आफ्नो मौलिक भाषाको प्रवर्द्दन गर्ने कार्य प्रवासमा गरिनु अत्यन्तै सराहनीय रहेको उनको भनाई थियो । त्यस्तै विशेष अतिथियो काउन्सिलमेन कोस्टाले न्युयोर्क शहरमा “माउण्ट एभरेस्ट वे” को नामाकरणको घोषणा सभा शीघ्र गरिने ल्होछार कार्यक्रमको मंचबाट औपचारिक घोषणा गरे । उनले आफू नेपाली समुदायबाट अत्यन्तै प्रभावित भएको र नेपाली समुदायको लागि न्युयोर्क शहरमा स्थानीय सरकारबाट उपलब्ध गराउन सकिने हरेक सहयोगहरु उपलब्ध गराउन आफू सधै तयार रहेको समेत बताए ।

कार्यक्रममा तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा खुलेर प्रशंसा गरे । नेपालको नुवाकोट जिल्लामा ट्रक दुर्घटनाबाट पिडित परिवारलाई १ लाख ४० हजार सहयोग गरेको तथा दोलखा र रामेछाप जिल्लाको पवित्र धार्मिक एवं ऐतिहासिक तिर्थस्थल शैलुंग डाँडामा बोधी चैत्य निर्माणको लागि ५ लाख रुपैया चन्दा सहयोग उपलब्ध गराउने जस्ता अनेकन कार्यहरु सम्पन्न गरेर तामाङ समाज अमेरिकाले सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय योगदान गरेको चर्चा गरे । त्यसैगरेर आफ्नो दोश्रो घर मानिने कर्मभुमि अमेरिकामा हाम्रो दोश्रो पुस्तालाई नेपाली र तामाङ भाषाबाट शिक्षित गराउनु अत्यन्तै खुशीको कुरा भएको उसले बताए । सामाजिक र मानवीय क्षेत्रमा मात्र नभएर स्थानीय मुलधारमा तामाङ समाज अमेरिकाका संरक्षक लुईसाङ वाईबा तामाङ स्थानीय एल्म्हर्स्ट हस्पिटलको कम्युनिटी एडभाइजरी बोर्डमा नियुक्ति हुनु तामाङ समाज अमेरिकाको लागि अर्को महत्वपूर्ण उपलब्धि भएको उनले बताए । 

कार्यक्रमको अध्यक्षता गरेका तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । सामाजिक विकासको लागि तामाङ समाज अमेरिका सधै क्रियाशील रहिरहने र तामाङ समुदायको सशक्तिकरणको लागि मात्र नभएर डायस्पोराका सिंगो नेपालीहरुको सशक्तिकरणको लागि समेत तामाङ समाज अमेरिका सक्रिय रहेको उनले बताइन् । डायस्पोरामा नेपालीहरुको पहिचानलाई स्थापित गराउन तामाङ समाज अमेरिकाले भविष्यमा महत्वपूर्ण कार्यक्रमहरु संचालन गर्ने र अन्य संघ संस्थाहरुसंग रचनात्मक उद्देश्यको लागि हातेमालो गरेर अगाडि बढ्ने उनको प्रतिवद्धता थियो ।
ल्होछार कार्यक्रम दिउँसो ४ बजे देखि मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको थियो भने साँझ सांस्कृतिक कार्यक्रम गरिएको थियो । तामाङ संगीतलाई प्रवर्द्दन गर्ने उद्देश्यले विभिन्न कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । त्यस्तै तामाङ समाज अमेरिकाको नेपाली र तामाङ भाषा शिक्षा परियोजना अन्तर्गत नाङ्साल स्कुलका विद्यार्थीहरुले नेपालको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । संस्थाका महासचिव बुद्दीमान तामाङले संचालन गरेको औपचारिक कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ब्रजेश लामाले स्वागत मन्तब्य दिएका थिए भने सांस्कृतिक कार्यक्रमको सञ्चालन पुरु लामा र रिनु लामाले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा ४५० जनाको उपस्थिति रहेको आयोजकले बताएका छन् ।

ल्होछार मूलतः नेपालको हिमाली पहाडी आदिवासी जनजाति समुदायहरुको ठूलो साझा साँस्कृतिक पर्व हो । नेपालको पश्चिम, मध्य तथा पूर्वी पहाडी हिमाली क्षेत्रमा बढी केन्द्रीत भएर फैलिएका मंगोल समुदायको मात्र नभएर ल्होछार एशियाका समग्र मंगोल समदायकै साझा साँस्कृतिक पर्व पनि हो । यो पर्व चिन, कोरिया, जापान, मलेशिया, हङकङ, सिंगापुर, भियतनाम, लाओस, थाइल्याण्ड, बर्मा लगायत देशहरुमा धुमधामले मनाइन्छ । अतः ल्होछार मंगोल सँस्कृति र परम्पराको अभिन्न अंगको रुपमा रहेको बुझ्न सकिन्छ । बौद्ध धर्म मान्ने आदिवासी जनजातिहरुको सामाजिक जीवनमा त अझ यसको ज्यादै ठूलो साँस्कृतिक धार्मिक महत्व छ । त्यसैले तामाङ लगायतका समुदायहरु यसलाई ल्हो(रितु) फिर्ने दिनका रुपमा मात्र होइन मुलतः आफ्नो महान् साँस्कृतिक चाड र सभ्यताका रुपमा मान्दछन् । यो सभ्यतासंग जोडेर चन्द्र पात्रोको विकास आजभन्दा २८५५ वर्षअघि महामन्जुश्रीले गरेको मानिन्छ । तामाङहरु उनलाई ज्याङपाल भनेर जान्दछन् र आफ्नो ज्ञानको देवताका रुपमा मान्दछन् । यो सभ्यता मुलतः ल्हो परम्परामा आधारित छ ।

विश्वमा अहिले झण्डै ६० लाखको हाराहारीमा तामाङहरु रहेको विभिन्न अध्ययनले देखाएको छ । तामाङ जातिको सामाजिक, साँस्कृतिक एवं धार्मिक जीवनमा ल्होछार परम्पराको विशिष्ट स्थान र अत्यन्तै महत्वपूर्ण भूमिका रहेको छ । यो “ल्हो” परम्परा, तामाङ सँस्कृतिकै अभिन्न अङ्ग हो । ल्हो परम्पराकै आधारमा तामाङ समाजको जीवनमा उसको सँस्कृति र संस्कार परिचालित छ । अतः यसले तामाङ जातिको उद्गम, सभ्यता, साँस्कृतिक अस्तित्व र पहिचानलाई नै प्रतिविम्वित गर्दछ ।

के हो ल्होछार भनेको ?
“ल्हो”को अर्थ साल, सम्वत् वा वर्ष हो र “छार”को अर्थ नयाँ हो । अर्थात् ल्होछारको अर्थ “नयाँ वर्ष” हो । तामाङहरु ल्हो लाई वर्ग पनि भन्दछन् । ल्हो बाह्रवटा हुन्छन् अर्थात् यसलाई ‘ल्होखोर च्युङी’ भनिन्छ । विभिन्न पशुपंक्षीको नामवाट “ल्हो”को नाम राखिएको हुन्छ । बाह्र “ल्हो”मध्ये प्रत्येक वर्ष एक–एकवटा “ल्हो” फेरिन्छ । यही “ल्हो” फेरिने दिनलाई तामाङ भाषामा “ल्होछार” भनिन्छ । यो पर्व तामाङहरुले आफ्नो धार्मिक एवं साँस्कृतिक परम्परा अनुसार लगातार १५ दिनसम्म नै मनाउँदछन् ।