न्युयोर्क

न्यूयोर्कको क्वीन्समा साउथ एशियन हेरिटेज सेलिब्रेशन हुँदै

गोकुल श्रेष्ठ, न्यूयोर्क ।
न्यूयोर्क सहरको क्वीन्सस्थित एल्म्हस्टमा साउथ एशियन हेरिटेज सेलिब्रेशन हुने भएको छ । यहि बुधबार अर्थात मे ९ तारिखमा हुन लागेको कार्यक्रम न्यूयोर्क सिटी काउन्सिल मेम्बर कोस्टा कोन्स्टान्टिनिडेसको आयोजना र न्यूयोर्क सिटी काउन्सिल मेम्बर डानियल ड्रमको सहओजनामा हुन लागेको हो । 
२५–२६ ७५ स्ट्रिट, इष्ट एल्म्हस्ट न्यूयोर्क स्थित लेक्जिन्टन स्कूल फर डेफमा बेलुकी ६ बजे आयोजना गरिएको सेलिब्रेशन कार्यक्रमको होस्टको रुपमा इभेन्ट युएसए इन्टरटेनमेन्ट, टिविएन २४, मोहम्मद एजी, मंलदास श्रेष्ठ, हर्वचन सिंह र जमाइल सिंह रहेका छन् । होस्ट श्रेष्ठका अनुसार यो कार्यक्रम न्यूयोर्कमा पहिलो पटक हुन लागेको हो । कार्यक्रममा विभिन्न साउथ एशियन देशका संस्कृति झल्कने कार्यक्रमहरु प्रस्तुत हुनेछन् त्यस्तै कार्यक्रममा समाजमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिने भएको छ । कार्यक्रममा सहभागिताका लागि आयोजकले विशेष आव्हान गरेका छन् ।
उक्त हेरिटेज सेलिब्रेशनको सहप्रायोजन भने १२ वटा विभिन्न साउथ एशियन संघसंस्थाहरुले गरेका छन् । जसमा बंगलादेश सोसाईटी, किरात राई सोसाईटी अफ अमेरिका, रिजउड नेपाली समाज, तामाङ सोसाईटी अफ नर्थ अमेरिका, नेवाः गुठी न्यूयोर्क, शेर्पा एशोसियसन इन अमेरिका, युनाईटेड भुटानिज एशोसियसन अफ अमेरिका, वीक्ली बंगाली, गोर्खा समाज, पाकिस्तानी अमेरिकन कम्यूनिटी अफ न्यूयोर्क र पाकिस्तानी अमेरिकन कम्यूनिटी अफ लङआईल्याण्ड रहेका छन् । 
उक्त कार्यक्रमको बारेमा कुनै जिज्ञासा भएमा काउन्सिल म्यान कोस्टाका कम्युनिटी लियजन जोय चौधरीको इमेल jchowdhury@council.nyc.gov मा सोझै सम्पर्क गर्न सकिने उनले बताएका छन् । 

को हुन् कोस्टा ?
काउन्सिल म्यान कोस्टा इमिग्रेसनहरुको हक अधिकारको पक्षमा वकालत गर्ने डेमोक्राटिक नेताका रुपमा चिनिन्छन् । उनले प्रतिनिधित्व गर्ने डिस्ट्रिक २२ मा रहेका इमिग्रेसन मात्र होइन समग्र न्यूयोर्क र अमेरिकामा रहेका इमिग्रेसनको सुविधा, सहजता र अधिकारको पक्षमा वकालत गरिरहेका छन् । पछिल्लो समय नेपालीहरुले पाएको टिपिएस नविकरणको सवालमा पनि उनले खुलेरै वकालत गरेका हुन् । त्यस्तै एल्म्हस्ट हस्पिटलमा नेपाली भाषाको व्यवस्था गराउनका लागि उनले ठोस कदम नै चालेका छन् । उनले हस्पिटल व्यवस्थापनलाई औपचारिक पत्राचार गरी नेपाली भाषाको व्यवस्था गर्न आग्रह समेत गरेका छन् । त्यस्तै उनले डिपार्टमेन्ट अफ मोटर भेइकल अर्थात डिएमभी न्यूयोर्कमा नेपाली भाषाको माध्यमबाट परीक्षा दिन पाउने व्यवस्थाका लागि पहल गरिरहेका छन् । नेपाली डायस्पोराका अगुवाहरुसँगको सहकार्य एवं उनीहरुले गरेका मागहरुलाई सधै प्राथमिकताको साथमा उठाउने गरेका काउन्सिल म्यान कोस्टा नेपाली अमेरिकन समुदायका लागि आशावादी नेताका रुपमा स्थापित हुँदै आएका छन् ।  
न्यूयोर्क सहरको डिस्टिक २२ को प्रतिनिधित्व गर्ने कोस्टाको कार्यक्षेत्रको रुपमा अस्टोरिया, ज्यान्सन हाईट्सको केहि भाग, उडसाईड र पूर्वीय एल्म्हस्ट परेको छ । त्यस्तै उनी न्यूयोर्क सिटी काउन्सिलको पर्यावरण सुरक्षा समितिको सभापति हुन भने उनी अन्य विभिन्न चार समितिमा आवद्ध छन् । सन् २०१३ मा सिटी काउन्सिलमा निर्वाचित भएका कोस्टा सन् २०१७ मा पनुः ९३ प्रतिशत भोट सहित निर्वाचित भएका चर्चित एवं शक्तिशाली नेता हुन् । 
आफ्नो पहिलो कार्यकालमा निकै महत्वपूर्ण काम गरेर चर्चामा रहेका कोस्टा दोश्रो कार्यकालमा पनि उत्तिकै चर्चित रहेका छन् । उनले इमिग्रेसनहरुको हक अधिकारका लागि आफ्नो सम्पूर्ण शक्ति परिचालन गर्ने गरेका छन् । 
तस्वीरः गीभमी अस्टोरिया डट कम

Click Here For English