राजनीति

फ्ल्यासब्याक: पहिलो भ्रमणमा ओली र मोदीबीच चर्काचर्की

काठमाडाैं, १४ चैत ।  ८ फागुन २०७२ मा हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र मोदीबीच औपचारिक दुईपक्षीय वैठकमा भनाभन भयो । बिषय थियो : नेपालको संविधान । उक्त वैठकमा सहभागी कूटनीतिज्ञका अनुसार प्रधानमन्त्री ओलीले भनेका थिए, ‘नेपालको संविधान समावेशी छ, लोकतान्त्रिक छ । कार्यान्वयनका क्रममा कमीकमजोरी देखिएछन् भने सच्याउँदै जाउँला ।’ आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

तर, मोदीले विदेश मन्त्रालयका अधिकारीले दिएको नोट हेरेर भनेका थिए, ‘प्रधानमन्त्री ओली, क्रिकेट मैदानभित्रबाट सबै कुरा सामान्य देखिन्छ, तर टेलिभिजनमा लाइभ हेर्नेहरुलाई कहाँ–कहाँ कमजोरी छ भन्ने थाहा हुन्छ । त्यस हिसाबले तपाईँको व्याख्या गलत छ । बेलैमा समस्याको समाधान गर्नुहोस् । यदि संविधान संशोधन भएन भने स्थायित्व प्राप्त हुने चाहना पूरा नहुनसक्छ ।’

ओली गुजरातको भुजमा जाँदा यादब समुदाय बाहुल्य गाउँमा पुगे । त्यहाँ उनले भाषण गरे, ‘यहाँका ६० प्रतिशत यादब हुनुहुन्छ भन्ने मैले सुनेको छु । हाम्रो टिममा पनि सांसद लालबाबु यादब हुनुहुन्छ । उहाँले संविधान बनाउनुभयो, संविधान जारी गर्ने राष्ट्रपति रामवरण यादब नै हुनुहुनछ ।’ ओलीले त्यसोभन्दा लालबाबु यादबले उठेर हात हल्लाए । भुजको यादब समुदायले ताली बजायो ।

जानकारका अनुसार संविधानका बारेमा मोदीलाई लक्षित गरेर ओली बोलेका थिए । परराष्ट मन्त्रालयका एक अधिकारीले भने, ‘अहिले परिस्थिति बदलिएको छ । तर, प्रधानमन्त्री ओली आधारभुत अडानबाट बाहिर गएका छैनन् । ओली होइन, परिस्थिति बदलिएको छ । बरु, प्रधानमन्त्री मोदीको अडानमा नरमपन छ ।’