राजनीति

‘मिडिया नियन्त्रण गर्न खोज्नु गलत’

काठमाडाैं, २७ फागुन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सञ्चारमाध्यम माथि अंकुश लगाउन खोज्नु गलत भएको बताएका छन् । काठमाडौंमा रिपोर्टर्स क्लबद्वारा शनिबार आयोजित कार्यक्रममा पूर्वसञ्चारमन्त्रीसमेत रहेका राईले संविधानले नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेकाले कसैले पनि मिडियामा अंकुश लगाउन सम्भव नरहेको बताए ।

राईले तीनै तहमा नागरिक सरकार बनिसकेकाले संविधान विपरीतका कुनै पनि काम हुन नदिइने बताए । ‘कान्तिपुरमाथि जुन अवहेलनाको मुद्दा लगाइएको छ, सर्वोच्च अदालतले त्यसको निरूपण संविधानबमोजिम आफ्नो मर्यादालाई ख्याल गरेर, संविधानको मूल मर्म र भावनाअनुरूप गर्नुपर्छ,’ उनले भने, ‘मिडियामाथि नियन्त्रण र अंकुशको कुनै गुञ्जायस रहँदैन ।’

राईले मिडियामाथि नियतपूर्वक नियन्त्रण गर्ने हिसाबले अंकुश लगाउन खोज्नु र निसाना बनाउनु गलत भएको बताए । ‘संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था गरेका छौं । कसैले पनि मिडियामाथि अंकुश लगाउन र निसाना बनाउन सक्तैन,’ उनको भनाइ थियो ।, यो खबर आजको  कान्तिपुर दैनिकमा छ ।