राजनीति

संसद बैठकः अन्तरिम कार्यविधि पारित

काठमाडाैं, २२ फागुन । संघीय संसद्का पहिलाे बैठक बसेकाे छ । साेमबार बसेकाे पहिलाे प्रतिनिधिसभाकाे बैठकले अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ।  पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । 
संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् ।
कार्याविधिअनुसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बाधा पुर्‍याउने, अभद्र व्यवहार गर्ने वा संविधान वा कार्यविधिको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले सुरुमा सुनाउनेछन् ।
‘नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन्, प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइनेछैन,’ कार्यविधिमा भनिएको छ, ‘प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्य त्यसपछिको १५ दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’ निलम्बन भएको सदस्य तुरुन्त बैठकस्थलबाट बाहिर जानु अनिवार्य गरिएको छ।