राजनीति

सांसदको शपथ सप्तरंगी देखियो

काठमाडौं, २१ फागुन । संघीय संसदका सदस्यले आइतबार जेष्ठ सदस्यसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । सपथ ग्रहण कार्यक्रम निकै नै ऐतिहासिक बनेको थियो । सप्तरंगी इन्द्रेणी जस्तै विभिन्न रंग र वेशभूषाको अनुपम संयोगको रुपमा संघीय संसद्को शपथ ग्रहण समारोह आयोजना भयो । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संघीय संसद् भवनमा आज प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु आ–आफ्नै वेशभूषामा पद तथा गोपनियताको शपथ लिन पुग्नु भएको थियो । नेपालको जातीय विविधता र सहअस्तित्व र भातृत्वको विराट संगमको रुपमा शपथ ग्रहण समारोहलाई लिन सकिन्थ्यो । अन्य दिनमा साधारण पोशाकमा देखिंदै आएका अधिकांश सांसदहरु आज आ–फ्ना जातीय वेशभूषामा देखिंदै कतिपयलाई त झट्ट चिन्न पनि गाह्रो पर्दथ्यो । 

आ–आफ्नै वेशभूषामा सजिएका प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य आपसमा बधाई साटासाट गर्न र सेल्फी खिच्न व्यस्त थिए । नेपाली पोशाक दौरा सुरुवाल लगाउने पनि भेटिएका थिए भने थारु, मगर, गुरुङ, मारवाडी, मुसलवान समुदायको वेशभूषामा सजिएका सांसद्ले राष्ट्रिय तथा स्थानीय समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा पूर्णरुपमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धतासमेत जनाएका थिए । 

राष्ट्रियसभाका ५५ सदस्यद्वारा शपथ

राष्ट्रियसभाका ५५ जना सदस्यले अाइतबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उहाँहरुलाई शपथ दिलाउनुभएको हो । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिनुभएको थियो । 
शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित हुनुभएन ।  मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ । 
शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो ।  सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वाेच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उहाँहरुको शपथ रोकिएको हो । 
यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाउनुभएको थियो । राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ । 
संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । 
छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिनिधिसभा सदस्यद्वारा शपथ ग्रहण

 संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरले सांसदहरुलाई अाइतबार अपराह्न संघीय संसद भवन, नयाँ बानेश्वरस्थित प्रतिनिधिसभाको सभाहलमा शपथ गराउनुभएको हो । यस अघि आजै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ सदस्य ठाकुरलाई शपथ गराउनुभएको थियो । 

शपथपछि सबै सांसदले संघीय संसद सचिवालयबाट प्राप्त सांसदको लोगो लगाउनुभएको थियो । यस लगत्तै उहाँहरु सचिवालयद्वारा आयोजित जलपान कार्यक्रममा सहभागी हुनुभएको थियो । शपथ लिन सांसदहरु राष्ट्रिय तथा आफ्ना पहिचान झल्कने पोशाकमा आउनुभएको थियो । 
नेपालको संविधानको धारा ८४ मा प्रतिनिधिसभा गठनबारे व्यवस्था छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिकतर्फ ११० गरी २७५ सदस्य छन् । 
प्रतिनिधिसभाका ३८ सदस्यले आफ्नो मातृभाषा भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दीमा शपथ लिनुभयो । प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भएको थियो । 
केही कानुनी अड्चनका कारण निर्वाचन भएको तीन महिनापछि मात्र प्रतिनिधिसभाका सदस्यलाई शपथ ख्वाउने काम भएको छ । दुबै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाई महिला सदस्य हुनुपर्ने कानुनी बाध्यताका कारण राष्ट्रियसभाको निर्वाचनपछि मात्र निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरेको हो । उनन्साठी सदस्यीय राष्ट्रियसभाको निर्वाचन गत माघ २४ गते सम्पन्न भएको थियो । 
यसैबीच संसदको पहिलो बैठकमा सहभागी हुनु अघि उहाँहरुले आज शपथ लिनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम सरकारको सिफारिशमा फागुन २१ गते संघीय संसदको पहिलो बैठक आह्वान गर्नुभएको छ । निर्धारित कार्यक्रम बमोजिम फागुन २१ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभा दुबै सदनको पहिलो बैठक एकै समयमा आ–आफ्ना सभाहलमा बस्दैछ । 
प्रतिनिधिसभामा नेकपा (एमाले) का १२१, नेपाली काँग्रेसका ६३, नेकपा माओवादी केन्द्र ५३, संघीय समाजवादी फोरम नेपालका १७, राष्ट्रिय जनता पार्टी नेपालका १६ तथा नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका एक÷एक र स्वतन्त्र एक सांसद छन् ।

राष्ट्रिय सभाको तीन सदस्यको सपथ कहिले ? 
सर्वोच्च अदालतले राष्ट्रियसभाका तीनजना सदस्यमाथि परेको मुद्दाको सुनवाइ स्थगित गर्दै सोमबारका लागि सारेपछि उनीहरुले सपथ लिन पाएनन् । अदालतका न्यायाधीश हरिकृष्ण कार्की र प्रकाशमान राउतको संयुक्त इजलासले राष्ट्रियसभाका लागि मनोनीत भएका तीनजना सदस्य डा युवराज खतिवडा, रामनारायण बिँडारी र डा विमला पौडेलको सुनवाइ स्थगित गरिएको सर्वोच्चका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । 
यसअघि उक्त मुद्दामा प्रकाश राउतले हेरेको हुनाले पुनः हेर्न नमिल्ने भन्दै सुनवाइ स्थगित गरिएको उहाँले बताउनुभयो । यही फागुन १३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले तीनजना सदस्यका हैसियतको शपथ नगर्न÷नगराउन भनी अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 
प्रवक्ता पन्थीले आज स्थगित भएको सुनवाइ भोलिका लागि पेशी तोकिएको बताउनुभयो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाका सदस्यका लागि सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीले संयुक्त रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले आफूहरुलाई मनोनयन नगरेर वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस गरेकालाई मनोनयन गरेको भन्दै राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई रिट दायर गर्नुभएको थियो ।