राजनीति

पार्टी एकताका ७ बुँदे आधारमा हस्ताक्षर

काठमाडौं, ८ फागुन । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सातबुँदे आधारमा हस्ताक्षर गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा  सोमबार राति अवेरसम्म चलेको बैठकमा एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । 
सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन् । एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । त्यस्तै, जनताको बहुदलीय जनवाद, माओवाद र २१ औं सताब्दीको जनवादबारे छलफल गर्दै जाने सहमति भएको उल्लेख छ । अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलले बताएका छन् । पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख गरिएको छैन । 
पार्टी एकताको सबैभन्दा पेचिलो विषय मानिएको नेतृत्व कसले गर्ने भन्ने विषय यसमा खुलेको छैन। यसमा माओवादीको माओवाद र एमालेको जनताको बहुदलीय जनवादलाई दुवैलाई असर नपर्ने गरी सैद्धान्तिक विषयमा विन विन स्थिति बनाइएको देखिएको छ। 
यद्पि प्रचण्ड बालुवाटारबाट बाहिरिने क्रममा सहमतिमा नभएका केही विषयमा समेत खुलासा गरेका थिए । सञ्चारकर्मीहरुसित कुरा गर्दै प्रचण्डले भने, ुदुवै दलका अध्यक्ष एकता महाधिवेशनसम्म रहने प्रष्टै छ।ु उनले पार्टीका बैठकहरुमा पालैपालो अध्यक्षता गर्ने पनि खुलाए। 
प्रधानमन्त्रीको विषयमा सोधिएको प्रश्नमा उनले केपी ओलीजी प्रधानमन्त्री भइसक्नुभएको छ भने। आलोपालो हुने बारे सोधिएको प्रश्नमा प्रचण्डले हाँसेर टारे। सरकारमा माओवादीको सहभागिता हुन्छ भनेर सोधिएको प्रश्नमा उनले अब दुवै पार्टी एक भइसक्यो भने।