राजनीति

नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा पद तथा गोपनियताको शपथ

काठमाडौं, ३ फागुन । नवनियुक्त प्रधानमन्त्री के पी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । आज अपरान्ह राष्ट्रपति निवास शीतल निवासमा ओलीले राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । उनले ईश्वरको नाममा भन्ने शब्द उच्चारण नगरी देश र जनताको नाममा शपथ गरेका थिए । 
आजमात्रै ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
शपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, उपराष्ट्रपति नन्दबहादुर पुनलगायत अन्य उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो । 
शपथ ग्रहण गरेपछि निवर्तमान प्रधानमन्त्री देउवा र नवनियुक्त प्रधानमन्त्री ओलीले कुर्सी साटासाट गरेका थिए । सो क्रममा उनीहरुले एकआपसमा हात भने मिलाएनन् ।
कार्यक्रममा राष्ट्रपति कार्यालयका सचिवले प्रधानमन्त्री नियुक्तिको पत्र पढेर सुनाएका थिए । 

तीन सदस्यी मन्त्रिमण्डल विस्तार
प्रधानमन्त्रीले आज नै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री नियुक्त गरेका छन् । दुई मन्त्री नियुक्त गरेसँगै मन्त्रिमण्डल तीन सदस्यीय बनेको छ ।  पण्डितलाई जनसंख्या तथा वातावरण र थापालाई महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ । दुवैले राष्ट्रपतिले नै शपथग्रहण गराएकी छन् ।