समाचार

ढाका टोपी दिवसमा सजिए युवा युवती

काठमाडौं, १७ पुस ।  सोमबार काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा ढाका टोपी दिवस मनाइँदैछ ।  पाँचौँ नेपाली टोपी दिवस मनाउने क्रममा काठमाडौंको माइतीघरमा विहानै युवतीहरुसमेत ढाका टोपी सजिएका थिए । काठमाडौंको माइतीघरमा सोमबार बिहानै जागरुक युवा अभियान नेपालले गरेको कार्यक्रममा युवा, युवती र बालबालिका टोपी लगाएर उपस्थित भएका थिए । 
नेपाली टोपीको संरक्षणमा जोड दिनुपर्ने उनीहरुको सन्देश छ । टोपीको संरक्षण र पहिचानलाई जोड दिँदै माईतीघर मण्डलादेखि शान्तिबाटिकासम्म र्‍याली गर्ने कार्यक्रम छ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । 
जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर उपहार दिएको संस्कृतविदहरुको भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भाद्गाउँले टोपी र ढाकाटोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।