समाचार

गुरुङ समुदायको नयाँ वर्ष अर्थात तमु ल्होसार

काठमाडौं, १५ पुस । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसवर्ष चरा वर्गको विदाई गरी कुकुर वर्षको स्वागत गर्दै तमु नयाँ वर्षको अवसरमा एकआपसमा शुभकामना आदनप्रदान गरिन्छ । 
तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाइन्छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको जनविश्वास छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने गर्दछन् । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ । 

पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 
यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले तमूल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमू गुरुङ समुदायमा सुख, शान्ति, समृद्धिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । 
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले तमु ल्होसारका अवसरमा सम्पूर्ण गुरुङ समुदायप्रति शुभकामना व्यक्त गर्दै ल्होसार जस्ता चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कामय राख्ने बताउनुभएको छ । 
त्यस्तै,  प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । 
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।