समाचार

लाजिम्पाट छाडेर खुमलटार किन सरे "प्रचण्ड" ?

काठमाडौं, २ पुस । माओवादी अध्यक्ष प्रचण्डले लाजिम्पाटमा रहेको आवास छाडेका छन् । उनी ललितपुर उपमहानगरपालिका वडा नम्बर १५ खुमलटारमा बसाइँ सरेका छन् । पार्टीका जिल्ला नेताहरुले खोजेको नयाँ डेरामा लाजिम्पाटबाट केही सामानहरु सारिसकिएको छ । पूर्णरुपमा सामानहरु सार्न केही दिन लाग्नेछ ।
माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार बिहान लाजिम्पाटमै भेटघाटमा व्यस्त थिए । दिउँसो माइतीघरमा केपी ओलीसँग भेटघाट गरेपछि उनी खुमलटारस्थित नयाँ निवासमा पुगेका थिए । प्रचण्ड पत्नी सीतासहित शुक्रबार नै खुमलटारस्थित नयाँ निवासमा सुतेका छन् । सचिवालयका केही सदस्यहरु भने लाजिम्पाटस्थित पुरानै निवासमा छन् ।
लाजिम्पाटमा कम्पाउण्ड साँघुरो रहेको र आगन्तुकहरुको गाडी पार्किंङ गर्न असुविधा भएकाले डेरा सरिएको प्रचण्डनिकट स्रोतले बतायो ।