समाचार

भारतीय सीमा–नाकामा सुरक्षा गस्ती बाक्लो

काठमाडौं, १७ मंसिर । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न चुनाव हुनु भन्दा तीन दिन अघिदेखि नै नेपाल–भारत सीमा वन्द गरिने भएको छ ।  गत मंसिर ५ गते बाँकेमा भएको दुइ देशका सुरक्षा अधिकारीको वैठकको निर्णयअनुसार दुबै देशले चुनावको ७२ घण्टाअघि नै सीमा वन्द गर्ने सहमति मंसिर १८ गतेदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकीय सेवाबाहेक अन्य सबै प्रकारका आवतजावत निषेध गरी सीमा सिल गरिने छ । 
अहिले ती क्षेत्रमा विशेष सुरक्षा सर्तकता अपनाईएको छ । नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षाका खटिएका भारतीय सीमा बलले संयुक्त रुपमा नाका क्षेत्रको सुरक्षा ब्यवस्था कडाई गरेका छन् । 
नाका क्षेत्रमा हतियार ओसारपसार हुन सक्ने तथा निर्वाचन बिरोधी शक्तिहरुको घुसपैठ हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरुमा निगरानी बढाउनुका साथै विशेष ‘अप्रेशन’ थालेको छ । बाके, कैलाली, कञ्चनपुर, रुपन्देही, चितवन, लगायत तराइका भारतसँग नाका जोडिएका जिल्लामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल भारत सीमा नाकाहरु निर्वाचन सुरक्षाका लागि निकै संवेदनशील मानिन्छन् । 
नाकाबाट नेपाल भारत आवत जावत गर्ने नागरिकहरुको चेक जाँचमा अत्यधिक कडाई गरिएको छ । यसैगरि हरेक नाकाहरुमा सशस्त्र प्रहरीले ‘सर्च अप्रेशन’ चलाएको छ । नेपाल भारत आवत जावत गर्ने हरेक नाकाहरुमा चेकजाँच कडाई गर्नुका साथै नाका क्षेत्रहरुमा विशेष गस्ती टोली परिचालन गरेर सुरक्षा निगरानीलाई बढावा दिइएको छ । 
नेपालको निर्वाचन सुरक्षाका लागि भारतसँग जोडिएका सीमा क्षेत्र चुनौती नबन्ने प्रहरीले बिश्वास लिएको छ । यसका लागि पुरै शक्ति परिचालन गरेको प्रहरीले वताएको छ । पछिल्लो साता प्रहरीको सक्रियता झनै बढेको छ ।