न्युयोर्क

न्यूयोर्क सिटी कम्टोलरद्वारा फिप्नालाई सम्मान

गोकुल श्रेष्ठ/न्यूयोर्क 

न्युयोर्क शहरको विविधता कायम राख्न तथा शहरको सामुदायिक विकासमा उल्लेख्य भूमिका खेलेको भन्दै शहरका लेखा नियन्त्रक स्कट स्ट्रिङ्गरले बुधबार नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) लगायत तीन सामुदायिक संस्थालाई सम्मान गरेका छन् ।
दीवापलीको अवसरमा क्वीन्सस्थित एल्मस्र्ट अस्पतालको सभाहलमा आयोजना गरिएको विशेष समारोहमा स्ट्रिङगरले नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना), छाँया सामुदायिक विकास संस्था र दक्षिण एशियाली सामाजिक सेवा परिषद्लाई सम्मान गरेका हुन् । 
विभिन्न समुदायका व्यक्तिहरुको उल्लेख्य सहभागिताले खचाखच भरिएको सभालाई सम्बोधन गर्दै स्ट्रिङ्गरले सांस्कृतिक विविधता नै न्यूयोर्क सहरको विशेषता रहेको उल्लेख गर्दै भने– ‘समुदायलाई योगदान दिने संस्था तथा व्यक्तिलाई गरिएको सम्मानले नै हाम्रो विकास झल्कन्छ ।’ अमेरिकी राष्ट्रपतिले अमेरिकाको विविधतालाई मास्न खोजेको भन्दै राष्ट्रपतिको कदम विरुद्ध न्यु योर्क शहर लड्न तयार रहेको उनको भनाई थियो ।
सम्मान समारोहमा फिप्नाका अध्यक्ष लुईसाङ वाईवा तामाङले नेपाली सांस्कृतिक विविधताको वर्णन गर्दै त्यसको पहिचान स्वरुप सिटी कम्टोलरलाई तामाङ टोपी पहिराई दिएका थिए । सिटी कम्पटोलरबाट यसरी सम्मान पाउने सम्भवतः यो नै पहिलो नेपाली संस्था मानिएको छ । फिप्नाले यसरी सम्मान पाउनुका पछाडि यसले न्यूयोर्क सहरमा गरेका विविध सांस्कृतिक गतिविधि, नेपाल डे परेड लगायत नै हुन् ।
सिटी कम्पटोलरले समारोहमा उपस्थित रहेका भारतीय – गुएनिज मूलका राज्यका सिनेटर रोहन प्रसाद सहित सबैलाई धन्यवाद दिए । त्यस्तै, कार्यक्रमको आरम्भमा प्रार्थाना सभाको नेतृत्व गर्ने शान्ति भवन मन्दिरका पण्डित मनोज जडुबन्सलाई पनि स्ट्रिङ्गरले धन्यवाद दिए । कार्यक्रमको उद्घाटन सिट्रङ्गर सहित जिल्लाकी नेता डक्टर नीता जैनले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा क्विन्स कलेज भाङ्ग्रा टोलीले पन्जावी भाङ्ग्रा नाच प्रस्तुत गरेर मनोरञ्जन गरेका थिए ।
अमेरिकाको आदिवासी जनजाती महासंघ नेपालले न्युयोर्क शहरमा बसोबास गर्दै आएका नेपाली आदिवासी तथा जनजातीहरुको संस्कृतिलाई संरक्षण तथा प्रोत्साहन गर्दै न्यु योर्क शहरको विविधतालाई जोगाउने उद्देश्य रहेको छ । नेपालीहरुको आप्रवासन अधिकारलाई मूलधारमा ल्याउन समेत नेपाल आदिवासी जनजाती महासंघ अमेरिका सक्रिय रहेको छ ।