राजनीति

प्रधानमन्त्रीबाट नारायणगढ–मुग्लिन सडकखण्डको निरीक्षण

काठमाडौं, १८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नारायणगढ–मुग्लिन सडकको निरीक्षणमा निस्किएका छन् । आज बिहान प्रधानमन्त्री देउवासहितको टोली सडकको अवलोकनमा निस्किएको हो । उनीसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायर र सम्बन्धित अन्य अधिकारी गएका छन् । 
 ‘अहिलेसम्म भएको कामको प्रगति निरीक्षण गर्नुको साथै कामलाई तीव्रता दिन प्रधानमन्त्रीले निर्देशन दिनेछन्,’ यातायातमन्त्रीका सञ्चार अधिकृत रमेश जोशीले भने । प्रधानमन्त्रीले दसैँ, तिहार, छठलगायत चाडपर्वअघि नै सडक सुचारु गर्न निर्देशन दिने तयारी गरेका छन् । अहिले राति ११ घन्टासम्म नारायणघाट–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ ।

चाडपर्वसम्ममा पनि सडक सुचारु नभए यस वर्ष अघिल्ला वर्षको तुलनामा आवतजावत गर्न गाह्रो हुने सडक विभागका अधिकारीहरूको भनाइ छ । अहिले पहिलो प्राथमिकतामा राखेर सडक निर्माण भइरहेको विभागका प्रवक्ता दयाकान्त झाले बताए । यसअघि मंगलबार नै भौतिक पूर्वाधार तथा यातायातसचिव देवेन्द्र कार्की मुग्लिन–नारायणगढ सडक निर्माण क्षेत्रमा पुगिसकेका छन् । 
गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न सुरु गरिएको हो । १५ चैतअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र बन्द गरेर दैनिक साढे ४ घन्टा काम गर्ने गरिएको थियो ।