राजनीति

शीर्ष दलहरू दुई नम्बर प्रदेशमा केन्द्रित, माओवादीको सभामा कसले के भने ?

काठमाडौं, १७ साउन । स्थानीय तहको तेस्रो चरणको चुनाव अन्तर्गत अब प्रदेश नम्बर २ मा चुनाव हुँदैछ । चुनावलाई लक्षित गरी शीर्ष दलहरु त्यस क्षेत्रमा केन्द्रीत भएको छन् । जनकपुरमा नेपाली कांग्रेसले गरेको आमसभाको केही दिनमै सोमबार एकीकृत नेकपा माओवादीले पनि जनकपुरधाममा आमसभाको आयोजना ग¥यो । 

जनकपुरधाममा आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिँदै पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पहिलो पार्टी बनाउन निर्वाचन अभियानलाई युद्धस्तरमा अगाडि बढाउनुपर्नेमा जोड दिए । अध्यक्ष प्रचण्डले भने, ‘भ्रम चिरियो र सत्य स्थापित भयो भने माओवादीले जित्छ । अरु पार्टीहरुले भ्रमको खेती गरेका छन् । तर, माओवादीले आफूलाई काममा खरो प्रमाणित गरिसकेको छ ।’ अध्यक्ष प्रचण्डले अगाडि जोड दिदै भने, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाती जातीलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फाँसीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’

माओवादी केन्द्र नश्लवादी, जातिवादी र अन्धराष्ट्रवादी नभएको स्पष्ट पार्दै उनले आफूहरुले उत्पीडितहरुको बलियो एकतामार्फत् राष्ट्रिय एकता र सद्भाव स्थापित गर्न चाहेको बताए ।  अध्यक्ष प्रचण्डले भने, ‘मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन् । उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोजिदैछ । त्यो हामीलाई सह्य छैन ।’

हामीले उठाएको जातीय मुक्तिको नारा हिमाल, पहाड र तराईमधेशका गरीब र उत्पीडितहरुलाई एकताको एउटै सुत्रमा बाँध्ने नारा रहेको भन्दै उनले  एमाले र मधेशी दलले लिएजस्तो जाती जाती भिडाउने नारा नभएको बताए । 

 मधेशी जनताको मुक्तिका लागि १३०० जनाले सहादत गरेको स्पष्ट पार्दै उनले मधेशको अधिकारका लागि लड्ने एक मात्र पार्टी माओवादी केन्द्र मात्रै भएको उल्लेख गरे । अध्यक्ष प्रचण्डले भने, ‘मेरो प्रधानमन्त्रीकाल नै हिमाल, पहाड र तराई मधेशलाई एकताको सुत्रमा बाँध्ने र राष्ट्रिय एकता हासिल गर्ने सफल कार्यकाल हो ।’

माओवादी भनेको ध्वस्त गर्ने, भत्काउने, बिगार्ने पार्टी नभएको भन्दै उनले कसैले त्यस्तो सोच्छ भने त्यो भ्रम हो । विकास, समृद्धि र उज्यालो नेपालको अभियानले त्यसलाई पुरै खारेज गरिदिएको स्पष्ट पारे । 
संविधानमा हामीले प्राप्त नगरेका कुरा छोडेका छैनौं । हामी हाम्रा मुद्दाका पक्षमा निरन्तर लडिरहने उनको कथन थियो ।  लोडसेडिङको अन्त्य, २५ वर्षपछि आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा पुग्नु, हुलाकी राजमार्ग, फास्ट ट्रयाक निर्माण, महाकाली नदीमा पुल निर्माण र राष्ट्रिय गौरवका आयोजनामा तिब्र प्रगति जस्ता महत्वपूर्ण काम इतिहासले कहिल्यै भूल्न नसक्ने उपलब्धि रहेको उनको भनाइ थियो । 
अध्यक्ष प्रचण्डले भने, ‘हामीले बासमति चामल फलायौ । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौ । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कुहेको किरा परेको कांग्रेस, एमालेको पिठो बिक्न नदिउँ।’

उनले एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन नपरेको भएपनि बाध्यतावश स्वीकार गरेकाले उनीहरु  बलिया भए भने परिवर्तन उल्टाउने चिन्ता व्यक्त गरे । 
अध्यक्ष प्रचण्डले जोड दिदै भने, ‘माओवादी फुट्दा जनता रोएका छन् । जनताको त्यत्रो अपेक्षा थियो । तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्दि आउनुपर्छ’ । उनले थप जोड दिए, ‘प्रचण्डले पार्टी बिघटनको प्रस्ताव गर्याे भनेर हल्ला गर्दैछन् । पार्टी बिघटन कल्पना नगर्दा पनि हुन्छ । तर, पार्टीका गलत संस्कृति र प्रवृत्ति भने बिघटन गर्नुको बिकल्प छैन ।’ त्यस्तै, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूखको मुद्दा लिएर जनतामा जाने सो नाराको व्यहारिक कार्यान्वयन र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्रै  देशको स्वाधिनता जोगाउन, राष्ट्रिय एकता बलियो बन्ने स्पष्ट पारे ।

रामबहादुर थापा बादलले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकाले एकल जाति, भाषा, लिङ्ग र क्षेत्रको निरङ्कुश सत्ता ढालेर जनताको संघीय गणतन्त्र स्थापना गरेको बताए । उनले राजनीतिक दृष्टिले मधेश स्वायत्त प्रदेश बनिसकेको छ, असोज २ को चुनावपछि त्यसले बैधानिकता पाउँने र त्यसैलाई नै  नयाँ एकता हासिल गर्न सक्ने बनायोै भने यौ भने २ नम्वर प्रदेशमा माओवादी केन्द्र पहिलो हुनेमा शंका नरहेको स्पष्ट पारे ।

उनले भने, ‘प्रदेश नं २ सामन्तवादको गढ हो, जमिन्दारहरुको बोलवाला छ, माओवादीले जिते मात्र यसलाई बदल्न सकिन्छ । क्रान्तिकारी उपलब्धिहरुको रक्षा गर्न माओवादी उम्मेदवारहरुले जित्न जरुरी छ ।
उनले  संगठनात्मक श्रेष्ठता हासिल नगरी राजनीतिक उपलब्धिहरु जोगाउन मुस्किल पर्ने धारणा समेत राखे । त्यस्तै, पार्टीका अर्का नेता नारायणकाजी श्रेष्ठ प्रकाशले संविधान कार्यान्वयनको प्रक्रिया सफल पार्न असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन हुन लागेको र नेपालको स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा सबैभन्दा बढी त्याग र बलिदान मधेशी जनताले गरेको बताए । 

नेता प्रकाशले भने, ‘नेपालमा गणतन्त्र, संघीयता, नयाँ संविधान लगायतका जुन परिवर्तन हासिल भएका छन्, यसको एक मात्र हकदार माओवादी केन्द्र हो ।’ उनले थप जोड दिदै भने, ‘विभिन्न षड्यन्त्र छन् । तर, अब निर्वाचनलाई कुनै शक्ति र षड्यन्त्रले रोक्न सक्दैन । असोज २ गते २ नम्वर प्रदेशमा निर्वाचन भएरै छोड्छ ।’ मधेशी लगायत सम्पूर्ण समुदायको माग सम्बोधन हुने गरि माओवादी केन्द्र संविधान संशोधनका लागि प्रयत्नशील रहेको तर  एमाले संकिर्ण जातिवादी, नश्लवादी र सामन्ती पार्टी भएकाले त्यसको कुनै राजनीतिक मूल्य, मान्यता र संस्कार समेत नभएको बताए ।

कार्यक्रममा गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल प्रभु साह , उर्मिला अर्याल , विश्वनाथ साह, प्रल्हाद बुढाथोकी,रामकुमार यादव , भरत साह ,डाचाराज वाग्लेलगायतको सहभागिता थियो ।  कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्यहरु सहित स्थानीय नेता तथा कार्यकर्ता गरी करिब हजार जनाको सहभागिता रहेको थियो । 

प्रशिक्षणमा ८ जिल्लाका संयोजकहरुले रिपोर्ट प्रस्तुत गरेको थियो ।  त्यसमा मूख्य प्रतिस्पर्धी कांग्रेस रहेको केही स्थानमा मधेशवादी दल र एमाले प्रतिस्पर्धी, मधेशमा माओवादी केन्द्रमा पार्टी प्रवेशको लहर बढेको  आन्तरिक मतभेद सम्बोधन गरे २ नम्वर प्रदेशमा पहिलो हुने रिपोर्ट प्रस्तुत गरिएको थियो ।