काठमाडौं, ३० असार । निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ ।
मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ । जिल्लामा मतपत्र समेत पठाइसकिएको छ । पहिले नै मतपत्र पठाइसकेकाले आयोगले नयाँ निर्णय नगरेसम्म मतपत्रमा नयाँ निर्वाचन चिह्न थप गरिनेछैन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार २ असोजको निर्वाचनका लागि नयाँ मतपत्र छापिनेछैन । राजपा दल दर्ता प्रक्रियामा रहेकाले आयोगले नयाँ निर्णय नगरेको हो । राजपाले माग गरेअनुसार छाता चिह्न दिने हो भने मतपत्र पुनः छाप्नुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म यो निर्णय गरिसकेको छैन । तत्काल उक्त चिह्न दिन नसकिने आयोगले बताइसकेको छ ।
प्रदेश नम्बर दुईमा रहेका ८ जिल्लाका १ सय २७ स्थानीय तहमा निर्वाचन हुन बाँकी छ । उक्त जिल्लामा निर्वाचन आयोगले २ हजार १सय ३७ मतदाता केन्द्र तोकिसकेको छ । प्रदेश नम्बर २ मा एक महानगर (वीरगञ्ज), तीन उपमहानर तथा अन्य नगरपालिका र गाउँपालिका छन् । करिब २५ लाख बढी मतदाता रहेका छन् ।
Comments