काठमाडाैं, असार । दोस्रो चरणको स्थानीय निर्वाचनअन्तर्गत प्रदेश नम्बर एक, पाँच र सातमा बुधबार बिहान ७ बजेदेखि मतदान जारी छ । निर्वाचन आयोगले तीनै प्रदेशमा उत्साहजनक रुपमा मतदान भइरहेको जनाएको छ। दोस्रो चरणकै निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवादेखि सभामुख ओनसरी घर्ती र उपप्रधानमन्त्री तथा मन्त्रीहरुले पनि आ–आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गरेका छन् । बिहानैदेखि मतदानस्थलमा मतदाताको लामो भीड देखिएको छ ।
पूर्वी नेपालका केही जिल्लामा पानी परेका कारण मतदान सामन्य प्रभावित भएपनि अन्य ठाँउमा राम्रोसँग मतदान भैरहेको छ । केही ठाँउमा विवाद पनि भएका छन् । राजपा प्रभावित जिल्लाहरुमा पनि चुनावमा कुनै समस्या देखिएको छैन । नवलपरासी, रुपन्देही र कपिलबस्तुको दक्षिणी भेगमा पनि शान्तिपूर्ण रुपमा चुनाव भैरहेको समाचार आएका छन् । चुनाव बहिस्कार गरेपनि राजपाका स्थानीय नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।
आजको चुनावमा ६२ हजार ४०८ उम्मेदवार मैदानमा छन् । १५ हजार ३८ जना जनप्रतिनीधि चयन हुँदैछन् । आज ३५ जिल्लाका ३३४ स्थानीय तहमा चुनाव भएको छ । जसमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाँउपालिकामा चुनाव भैरहेको छ ।
आज प्रदेश नम्वर १ का १४ जिल्लामा चुनाव हुँदैछ । जहाँ १३७ स्थानीय तह छन् । महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदान स्थल छन् भने ३४५९ मतदान केन्द्र छन् । १ नम्वर प्रदेशमा २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता छन् ।
प्रदेश नम्वर ५ मा १२ जिल्ला छन्, जसमा नवलपरासी र रुकुमका केही भाग पनि छन् । यहाँ १०९ स्थानीय तह अन्तर्गत उपमहानगरपालिका ४, नगरपालिका ३२ र गाउँपालिका ७३ छन् । यो प्रदेशमा १६१२ मतदान स्थाल र ३१२५ मतदान केन्द्र छन् । यहाँ २४ लाख ५४ हजार चार सय ८८ मतदाता छन् ।
यसबाहेक चुनाव भैरहेको ७ नम्वर प्रदेशमा ९ जिल्ला छन् । यहाँ जम्मा ८८ स्थानीय तह छन्, जसमा उपमहानगर १, नगरपालिका ३३ र गाउँपालिका ५४ छन् । यहाँ ७३४ वडा छन्, ११०८ मतदान स्थाल छन भने १७८० मतदान केन्द्र छन् । यहाँको मतदाता सख्या १३ लाख ती हजार सात सय १४ छ ।
Comments