राजनीति

चुनावको तयारी तीव्र, उम्मेदावर मत बटुल्न व्यस्त

काठमाडौं, ७ असार । स्थानीय तहको दोस्रो चरणको चुनाव हुन करिब एक साताको समय मात्र बाँकी छ । चुनावका लागि निर्वाचन आयोगले आफ्ना सम्पूर्ण काम पूरा गरिसकेको छ भने उम्मेदवारहरु मत बटुल्न घरदैलो अभियानमा व्यस्त बनेका छन् । 
यसैबीच, चुनावमा सहभागी हुने उम्मेद्वारहरुलाई निर्वाचन आयोगले मंगलबार चुनाव चिन्ह प्रदान गरेको हो । आयोगका अनुसार करिब ५५ हजार उम्मेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको छ । 
दोस्रो चरणको चुनावी कार्यतालिका अनुसार निर्वाचन आयोगले मंगलबार चुनावमा सहभागी हुने उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको हो । मंगलबारसम्ममा चुनावमा सहभागी हुने उम्मेदवारको संख्या ५५ हजार ७ सय भन्दा बढी रहेको छ । अझै केही स्थानबाट उम्मेद्वारहरुको नामावली आउन बाँकी रहेकाले संख्या बढ्ने आयोगको भनाई छ । मंगलबार चुनाव चिन्ह प्रदान गरेपछि अब उम्मेद्वारहरुले बुधबारबाट प्रचार प्रसारको काम शुरु गर्ने आयोगले बताएको छ । आयोगका अनुसार अब १४ गते हुने चुनावको सबै काम सकिएको छ । 
त्यस्तै, आयोगले उम्मेद्वारहरुलाई आचारसंहिता पालना गर्न आग्रह गरेको छ । आयोगले सबै मतदान केन्द्रमा खटिने कर्मचारीहरुलाई तालिम दिने काम चलिरहेको र अब मतदानका लागि आवश्यक पर्ने सामग्री मतदान केन्द्रमा पु¥याउने काम समेत शुरु भएको छ । निर्वाचन आयोगले चुनाव हुने प्रदेशका सबै शिक्षण संस्थालाई ४ दिनसम्म र चुनावको दिन सार्वजनिक विदा दिन सरकारसँग आग्रह गरेको छ । आयोगले उम्मेद्वार, मतदाता र चुनावमा प्रयोग हुने सामग्रीको उचित सुरक्षा व्यवस्था मिलाउन सरकारसँग समेत आग्रह गरेको छ ।
त्यस्तै, स्थानीय तहको दोश्रो चरणको चुनाव हुने जिल्लामा चुनावी चहलपहल निकै बढेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदबारहरु सहित सभा, सम्मेलन, घरदैलो लगायत प्रचारात्मक कार्यक्रममा ब्यस्त छन् । नेपाली काँगे्रस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका राजनैतिक दलहरु चुनाव प्रचार प्रसारमा जुटेका हुन् । 
दलका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टीका उम्मेदबार सहित बिभिन्न नारा र गीत घन्काउदै हरेक टोल र घरघरमा पुगेका देखिन्छन भने उनिहरुले जनता समक्ष आफ्ना योजना र एजेण्डाबारे जानकारी गराउदै भोट मागिरहेका छन । १ उपमहानगर,  ५ नगरपालीका र १० गाँउपालीका  १६ स्थानिय तह रहेको रुपन्देहीमा ४ लाख ६० हजार ४ सय १४ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयका ३१ राजनैतिक दलले चुनावमा भाग लिंदैछन् ।