मतपत्र च्यातिए, गणना स्थगित
चितवन, १५ बैशाख । चितवनको भरतपुर महानगरपालिकाको मतगणना प्रक्रिया स्थगित भएको छ । माओवादी केन्द्रका प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणना स्थगीत भएको हो । मत गणनाको नतिजा अनुसार मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । भरतपुर महानगरपालिका वडा न ः १९ को मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिदिएपछि प्रहरीले न्यौपानेलाई पक्राउ गरेको छ । न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका माओेवादी केन्द्रका अर्का प्रतिनिधी द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि तनावग्रस्त बनेको मतगणनास्थलमा अहिले ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मुख्य निर्वाचन अधिकृतले राती नै एक बिज्ञप्ती जारी गरेर अर्को सुचना नआउञ्जेलको लागी मतगणनाको प्रक्रिया स्थगीत गरेको जनाएका छन् । उनले संंचारकर्मीसंग प्रतिक्रिया दिदै आफु शौचालय गएको बेला केही व्यक्तीहरुले मतगणना स्थललाई रणभुमीमा परिणत गराएको प्रतिक्रिया दिए ।
त्यस्तै मतपत्र च्यातिएपछि संचारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका तर्फबाट मेयर पदमा उम्मेदवारी दिएका देबी प्रसाद ज्ञवालीले चुनाव हार्ने भएपछि माओवादीले जंगलीशैलीमा मतपत्र च्यातेको आरोप लगाए । यस बिषयमा माओवादी केन्द्र र नेपाली काग्रंसका नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन् ।
Comments