अन्तरवार्ता

डायस्पोराका ९९.९९ प्रतिशत नेपालीले आयोजक समितिको निर्णयलाई अनुमोदन गरेका छन्– लुईसाङ डब्ल्यु. तामाङ

कन्भेनर, नेपाल डे परेड–२०१६ 

दोश्रो नेपाल डे परेडको आयोजनाको विषयमा केही विवादहरु सुनिएका छन्, त्यसको वास्तविकता के हो ?
मलाई लाग्दैन यो दोश्रो नेपाल डे परेडको सवालमा कुनै विवाद छ भन्ने । डायस्पोराका हरेक नेपालीहरुको प्रतिनिधित्व यस परेडमा रहेको छ जुन हाम्रोलागि गौरवको कुरा हो । पहिलो परेडमा छुट्नु भएका साथीहरु समेत यस पटक अग्रपंक्तिमा रहेर काम गर्दै हुनहुन्छ । त्यसैले अब हामी बीच कुनै विवाद छैन ।

ऐतिहासिक नेपाल डे परेड तपाईको नेतृत्वमा प्रारम्भ भयो अब यसको निरन्तरताको जिम्मा कसको ?
मलाई खुशी लागेको छ की यति महत्वपूर्ण जिम्मेवारी नेपाली डायस्पोराले मेरो नेतृत्वमा   प्रारम्भ गरेको छ तर यसको सफलताको भागीदार हामी सम्पूर्ण नेपालीहरु नै हौं । म त केवल एउटा प्रतिनिधि पात्र हुँ । डायस्पोराले मलाई त्यसको लागि योग्य ठानेर नेतृत्व गर्ने जिम्मेवारी सुम्पियो त्यो मेरोलागि चुनौतिपूर्ण सौभाग्य थियो । अब उप्रान्त यो परेड हरेक साल आलोपालो गरेर डायस्पोराले विश्वास गरेको योग्य र कर्मठ व्यक्तित्वको नेतृत्वमा निरन्तर सम्पन्न हुनेछ ।

पहिलो नेपाल डे परेडको आयोजक समितिमा रहेका व्यक्तिहरुले हामीबाट कुनै सुझाव सल्लाह लिएन भन्नु सत्य हो ?
हेर्नुस् गोकुलजी, सल्लाह र सुझाव हरेक नेपालीहरुले यो परेडको वर्तमान आयोजक समितिलाई दिनु पर्छ किन की यो हामी नेपालीहरुको पहिचान र गरिमासँग जोडिएको कुरा हो । अघिल्लो समितिका साथीहरुले पनि आवश्यक सल्लाह दिनु पर्छ । तर घरमा बसेर मसंग सल्लाह लिएन भनेर अहम पालेर कसैले बस्नु हुन्न । यदी यो परेडको गरिमा बढाउने खालको सुझाव र सल्लाह छ भने जो कोहिले आयोजक समितिलाई स्वस्फूर्त सल्लाह दिन सकिन्छ । कुनै पनि आयोजक समिति हरेकको घर आँगनमा सल्लाह लिन जान सक्छ जस्तो मलाई लाग्दैन । 

दोश्रो नेपाल डे परेड पहिलोको निरन्तरता हो या अरु केही थप हुदैछ ?
दोश्रो भन्ने बित्तिकै पहिलोको निरन्तरता नै हो भनेर बुझिन्छ । त्यसैले दोश्रो नेपाल डे परेड पहिलो परेडकै निरन्तरता हो । यसमा कुनै शंका नगर्नु होला । जहाँसम्म थप कार्यक्रमको प्रसंग छ मलाई लाग्छ पहिलो परेड भन्दा पक्कै पनि यस पटक सुदृढ र व्यवस्थित परेड हुदैंछ । यसबारे दोश्रो नेपाल डे परेडका कन्भेनर मंगलदास श्रेष्ठजीलाई नै सोध्नु उपयुक्त होला ।

यो परेडमा नेपालका राजनीतिक दलका भातृसंगठनहरुलाई आयोजक समितिमा नराख्नुको कारण के होला ?
तपाईको यो प्रश्नको जवाफ मैले भन्दा पनि मंगलदास श्रेष्ठजीले सही ढंगले दिन सक्नु होला । जहाँसम्म आयोजक समितिको पत्रकार भेटघाटको कार्यक्रममा प्रस्तुत भए अनुसार राजनीतिक दलका भातृसंगठनहरुलाई आयोजक समितिले परेडमा विशेष अतिथिको रुपमा निम्ताएका छौं भन्नु भएको छ । मलाई लाग्छ त्यो सान्दर्भिक छ र उच्च मूल्यांकन सहितको विश्लेषण हो । नेपाली डायस्पोरालाई दलीय राजनीतिबाट स्वच्छ र सुदृढ राख्ने योजना अनुसार उहाँहरुलाई सम्मानित स्थान दिदै परेड सम्पन्न गर्ने यस पटकको आयोजक समितिका साथीहरुले निर्णय गर्नु भएछ । यो निर्णय पक्कै पनि उच्च विश्लेषण सहित आएको हुनुपर्छ । डायस्पोराका ९९.९९ प्रतिशत नेपालीले आयोजकको यो निर्णय अनुमोदन गरेको देखिन्छ ।

गत वर्षको कन्भेनर भएको नाताले यस्तो कार्यक्रम सम्पन्न गर्न कति सहज र कति असहज छ ?
हेर्नुस् नेपाल डे परेड जस्तो बृहत्तर र गौरवशाली कार्यक्रम गर्न भने जस्तो सहज त पक्कै छैन । त्यो पनि यो प्रवासमा जहाँ हामी अत्यन्तै व्यस्त हुन्छौ । तर काम गर्छु भनेर नेतृत्व सम्हालेपछि अप्ठ्यारो भयो या सहयोग पुगेन भनेर गुनासो गर्न त मिल्दैन नि ? सोचे जस्तो सहज नभए पनि साहै्र असहज पनि पक्कै छैन । नेतृत्वमा बस्ने साथीहरुले कम्तिमा पनि डेढ महिना जति आफ्नो नियमित समय यसैमा खर्च गर्नुपर्ने हुन्छ नत्र भने परेड असम्भब पनि हुन सक्छ । गजबको कुरा त गत साल मैले, मंगलदास श्रेष्ठजी र रवि किरण कोईरालाजीले लगभग ३ महिना पहिलो परेडको लागि समय खर्चेका थियौं । शायद पहिलो पटक भएकोले होला । अरु साथीहरुले पनि साथ दिनु भयो ।