अन्तरवार्ता

नेपाल डे परेड सारा नेपालीको गौरव हो

मंगलदास श्रेष्ठ 
कन्भेनर, नेपाल डे परेड २०१७

अहिले न्यूयोर्कको नेपाली डायस्पोरा नेपाल चिनाउने महान दिन ‘नेपाल डे परेड’ को तयारीमा जुटेको छ । संसारको राजधानी मानिएको न्यूयोर्क सहरमा आगामी मे २१ तरिखमा दोश्रो नेपाल डे परेड हुँदैछ । न्यूयोर्क सहरले गत वर्ष नै यो दिनलाई नेपाल डेको रुपमा घोषणा गरिसकेको छ । परेडका लागि ४० भन्दा बढि नेपाली संघसंस्थाहरु अग्रपंक्तिमा लागेका छन् । नेपाल आदिवासी जनजाति महासंघ, अमेरिकालगायत ४० भन्दा बढि नेपाली समाजिक संस्था आयोजक रहेको नेपाल डे परेडलाई नेपाली महावाणिज्यदुतावास, न्यूयोर्कले विशेष सहयोग गर्ने भएको छ । नेपाल डे परेड सम्पन्न गराउनका लागि कन्भेनरको रुपमा मंगलदास श्रेष्ठलाई चयन गरिएको छ । उनै कन्भेनर श्रेष्ठसँग न्यूयोर्क समाचारका प्रधानसम्पादक गोकुल श्रेष्ठले गरेको संक्षिप्त कुराकानी ।

   
दोश्रो नेपाल डे परेडको तयारी कस्तो भइरहेको छ ?
अत्यन्तै छोटो समय रहेकोले परेडको तयारी तिब्र गतिमा अघि बढिरहेको छ । स्टेरिंग कमिटी र अन्य कमिटीहरु सक्रिय रुपमा तयारीमा जुटेका छन् । साथै आयोजक संघसंस्थाहरु पनि त्यसै गरी सक्रिय भएका छन् ।

पहिलोमा भन्दा दोश्रो परेडमा नयाँ के हुदैछ ?
यस पटक गत सालको परेडभन्दा अत्यन्तै ब्यबस्थित र भव्य हुनेछ । गत साल पहिलो पटक भएकोले धेरै कुरा हामीले चुकाएका रहेछौ । पहिलो अनुभवबाट हामी केहि हदसम्म खारिएका छौ । बिगतको कमि कमजोरी यस पटक दोहोरिने छैन । साथै परेडको अन्त्यमा यस पटक सांगीतिक कार्यक्रमको ब्यवस्था गरेका छौ । आशा छ सहभागीहरुले पहिलो परेडमा भन्दा रमाइलो मान्नु हुनेछ ।

जनसहभागिता कस्तो हुदैछ ?
गत साल लगभग ५ हजारको सहभागिता थियो भने यस पटक ७ हजारदेखि ९ हजार पुग्ने छ भन्ने हाम्रो विश्वास छ ।

परेड आयोजनामा राजनीतिक दलका सहायक संगठनहरुलाई पाखा लगाएको जस्तो देखियो नि ?
तपाईले पाखा लगाइयो भन्ने शब्द प्रयोग गर्नु भयो जुन नितान्त गलत छ । यो परेडमा कसैलाई पनि पाखा लगाइएको छैन । यो सारा नेपालीहरुको गौरव हो । सबैजना सहभागी हुनुपर्छ । सबैलाई हाम्रो अनुरोध छ, नेपालीहरुको गौरव झल्काउने यस्तो कार्यक्रममा हामी सबैजना निर्धक्क सहभागी हौँ । नेपालका राजनीतिक दलका भात्रृ संगठनहरु जो यहाँ क्रियाशील छन् उहाँहरुलाई हामीले विशेष अतिथिको रुपमा निम्ताएका छौ । साथै गैर आवासीय नेपाली संघ अमेरिकालाई समेत विशेष अतिथिकै निम्तो छ । हामीले त उहाँहरुलाई अझ बढी सम्मान दिएका छौ । यसलाई पखा लगाएको अर्थमा बुझ्नु गलत हुन्छ ।

परेड आयोजनाकै विषयलाई लिएर विवाद भएको देखिन्छ, वास्तविकता के हो ?
हामीबीच कुनै विवाद छैन । हामी उत्साहित भएर यो दोश्रो नेपाल डे परेड भव्य रुपमा सफल बनाउन लागी परेका छौ । एउटा राजनीतिक दलको एउटा कार्यकर्ताको मात्र झिनो मसिनो गुनासो सुनिन्छ तर त्यो कुनै विवाद भने होइन । नेपालका राजनीतिक दलका भातृ संगठनहरु जो यहाँ पनि क्रियाशील छन् उहाँहरुलाई हामीले विशेष अतिथिको रुपमा निम्ताएका छौ । नेपाल र नेपालीको गौरवको लागि गर्न लागेको यो परेडमा कसैले पनि सानो मन राख्नु हुन्न भन्ने हाम्रो विश्वास छ ।

परेडको आर्थिक श्रोत के हो ?
गत सालको परेडको केहि रकम बाँकी छ । यस पटक त्यो रकम प्रयोग गरिनेछ । साथै नेपाली डायस्पोराका शुभचिन्तक ब्यबसायीहरु, ब्यतित्वहरु र अन्य शुभचिन्तकहरुबाट समेत सहयोग रकम संकलन गरिनेछ ।
परेडमा सहभागी हुन नेपालबाट कोहि विशेष व्यक्ति आउनु हुन्छ ?
नेपालबाट यस पटक विशेष एकजना व्यक्तित्व परेडको आकर्षणको लागि निम्त्याउने सल्लाह भइरहेको छ । टुंगो लागेपछि हामी सार्वजनिक गर्नेछौं ।

नेपाली दुतवासको कस्तो सहयोग रहनेछ ?
उहाँहरु सकारात्मक र उत्साहि हुनहुन्छ । नेपाली महाबाणिज्यदुतावास न्युयोर्क दोश्रो नेपाल डे परेडको विशेष सहयोगी पार्टनर हो । उहाँहरु पहिलो नेपाल डे परेडको समेत विशेष सहयोगी पार्टनर हुनहुन्थ्यो ।