काठमाडौं, बैशाख । निर्वाचन आयोगले जेठ ३१ मा स्थानीय तहको दोस्रो तहको निर्वाचन घोषणा गरेको सन्दर्भमा बजेट ल्याउन रोकटोक नभएको स्पष्ट पारेको छ। आयोगद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले यो कुरा बताएका हुन्। त्यस्तै सरकार र मधेसी मोर्चाको सहमतिअनुसार हुने भनिएको दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने कार्यतालिका पनि निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
प्रमुख आयुक्त यादवले बजेटका लागि चुनावी आचारसंहिता नलाग्ने स्पष्ट पारे। तथापि आयोगले सरकारलाई मिलेसम्म बजेट चुनावपछि नै ल्याउन आग्रह गरेको पनि बताए। बजेटका कार्यक्रम बनाउँदा भने आयोगको परामर्श लिनुपर्ने प्रमुख आयुक्त यादवले बताए। यसअघि संसदमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावअघि बजेट ल्याउन नमिल्ने बताएका थिए। निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलनमा दोस्रो चरणको चुनावी कार्यतालिका पनि सार्वजनिक गरेको छ।
जेठ १९ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ भने उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिनेछ। दोस्रो चरणको निर्वाचनको मिति जेठ ३१ गतेका लागि तोकेको थियो। पहिलो चरणमा ३, ४ र ६ नम्बर प्रदेशमा चुनाव हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ।
Comments