राजनीति

सरकार–मोर्चा सहमतिः निर्वाचन दुई चरणमा

काठमाडौं, बैशाख । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच तीन विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका बसेको बैठकमा दुई चरणमा निर्वाचन, संविधानको दोस्रो संशोधन विधेयक परिमार्जन र मधेसी मोर्चाद्वारा घोषित आन्दोलन कार्यक्रम फिर्ता लिई निर्वाचनमा भाग लिने विषयमा सहमति भएको हो।
दुई चरणमा निर्वाचन गर्ने सहमति भएको हो । निर्वाचनको मितिको विषयमा सरकारले आयोगसँग परामर्श लिएर निर्णय गर्ने भएको छ । मोर्चाले घोषणा गरेको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिने सहमति समेत भएको छ ।
निर्वाचनको मिति, संविधान संशोधन विधेयक, प्रदेश नम्बर दुईमा स्थानीय तहको संख्या बढाउने, आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने, थुनामा रहेकालाई रिहा गर्ने लगायतका विषय मन्त्रिपरिषद्बाट निर्णय आएपछि आफूहरू निर्वाचनको तयारीमा लाग्ने मोर्चाका नेताहरुले बताएका छन् ।
दोस्रो चरणको निर्वाचनको मिति निर्वाचन आयोगसँगको परामर्शमा आइतबार बस्ने मन्त्रीपरिषद बैठकमार्फत नेपाल सरकारले तोक्ने जनाइएको छ। बालुवाटारमा सात घण्टा लामो वार्तामा भएका सहमतिअनुसार विधेयकलाई परिमार्जन गर्ने काम आइतबारदेखि नै शुरु गर्ने र फास्ट ट्रयाकबाट सविधान संशोधन गरी दुई चरणमा चुनाव सम्पन्न गर्ने सहमति भएको छ ।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार ११ बुँदे संशोधन विधेयकमध्ये भाषा, सविधानको धारा २७४, धारा २८७ लगायतलाई परिमार्जन गर्ने भएको छ । भाषा अन्तर्गत २ ख लाई ३ ख गर्ने, धारा २७४ अन्तर्गत रहेको प्रदेश विवादलाई सम्बन्धित प्रदेशको सिफारिसमा समाधान गर्ने रहेको छ ।
नागरिकता, राष्ट्रियसभा लगायतका विषय यथावत राखेको छ । संघीय आयोग गठन गर्ने, स्थानीय तहको संख्या बढाउने, स्थानीय तहलाई प्रदेश अन्तर्गत राख्ने, आन्दोलनका क्रममा मारिएकालाई सहिद घोषणा गर्ने, मृतक परिवारलाई क्षतिपूर्ति दिने, निःशुल्क उपचार गराउने, आन्दोलनका क्रममा मुद्दा लागेकाको मुद्दा फिर्ता लिने, आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्ने जस्ता विषय तत्कालै मन्त्रीपरिषद्बाट गर्ने सहमति भएको छ ।
आन्दोलन आजबाट स्थगित
आन्दोलनरत मधेसी मोर्चाले सार्वजनिक गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम आइतबारबाट स्थगित गर्ने भएको छ। शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चा र सरकारबीचको बैठकले सरकारले संसोधनको प्रक्रिया अघि बढाउने सहमति भएसँगै मोर्चाले पनि आफूले यसअघि सार्वजनिक गरेका सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने बताएको हो ।
राष्ट्रिय जनता पार्टीका नेता केशव झा ले भने– आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले संशोधन प्रक्रियालाई अगाडि बढाएसँगै हामी पनि बैठक बसेर जारी आन्दोलनका कार्यक्रम रोक्नेछौ ।’  उनले पहिलो चरणको निर्वाचनका लागि उम्मेद्वारी दर्ता प्रक्रिया केही दिन बढाउने सहमति भएको समेत जानकारी दिए।