काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेसी मोर्चाका माग पूरा गर्न दुई चरणमा चुनाव गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मधेसवादी दलसँग प्याकेज सहमतिको सम्भावना टर्दै गएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश नम्वर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने अनौपचारिक प्रस्ताव अघि सारेका छन् ।
दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु विमलेन्द्र निधि र कमल थापा तथा माओवादी केन्द्रका निकट नेताहरुसँग यस्तो आशय व्यक्त गरेको बुझिएको छ । दाहालका एक सल्लाहाकारका अनुसार आइतबरपछि नेताहरुसँग भएका व्यक्तिगत तथा टेलिफोन कुराकानीमा दाहालले यो प्रस्ताव दोहोर्याएका थिए ।
दाहालको प्रस्ताव पुष्टि गर्दै माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश नम्बर २ का ८ जिल्ला र ५ का ३ जिल्लामा दोस्रो चरणमा चुनाव गर्नेबारे छलफल भैरहेको बताइन् । भुसालले भनिन्, ‘मोर्चा चुनावमा आउने ग्यारेन्टी हो भने २ नम्बर प्रदेशका सबैजिल्ला र ५ नम्बरका नवलपरासी, रुपन्देही र कपिलवस्तुमा दोस्रो चरणमा गर्ने छलफल भैरहेको छ ।’
Comments