राजनीति

स्थानीय चुनावमा १ करोड ४० लाख बढी मतदाता

काठमाडौं- आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा देशभर एक करोड ४० लाख ५४ हजार चार सय ८२ जनाले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम लेखाएका मतदाताको संख्या सार्वजनिक गरेको हो। 
आयोगका सचिव गोपीनाथ मैनालीले २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका एक करोड ४० लाख ५४ हजार चार सय ८२ मतदाताले आगामी स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउने बताए । उनका अनुसार कुल मतदातामध्ये ७० लाख ६९ हजार सात सय १४ पुरुष र ६९ लाख ८४ हजार ६ सय २५ महिला छन् भने तेस्रो लिंगी मतदाताको संख्या एक सय ४३ छ ।
‘नयाँ स्थानीय तहको ठेगानाअनुसार मतदाताको अन्तिम संख्या÷नामावली टुंगो लागेको छ’, सचिव मैनालीले नागरिकसँग भने, ‘नयाँ स्थानीय तहको ठेगानाअनुसार आइतबारदेखि नै मतदाता परिचयपत्र छपाइ सुरु भएको छ ।’ १६ वर्ष उमेर पुगेकाले पनि मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था भएका कारण आयोगले मतदाता विवरण प्रशोधन गरी २०७३ फागुन ९ गतेसम्म १८ वर्ष पूरा भएकालाई मात्रै मतदाता कायम गरेको हो । आयोगले फोटोसहितको विद्युतीय मतदाता नामावलीमा नाम लेखाउन सक्ने व्यवस्था गरेको थियो ।
आयोगका अनुसार तीन वर्षमै मतदाताको संख्या १९ लाख बढेको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा मतदाता संख्या एक करोड २१ लाख ४७ हजार आठ सय ६५ थियो । जिल्लागत विवरण हेर्दा सबैभन्दा धेरै मतदाताको संख्या मोरङ र सबैभन्दा कम संख्या मनाङमा छ । आयोगको विवरणअनुसार मोरङमा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् भने मनाङमा पाँच हजार ९५ मतदाता छन् । त्यसैगरी काठमाडौंमा पाँच लाख ५९ हजार चार सय मतदाता छन् । मतदाताको नामावली ठाउँ सारी नहुने तथा नाम दर्ता नगरिने आयोगले यसअघि नै निर्णय गरिसकेको छ ।
मतदाताको अन्तिम टुंगो लागेसँगै आयोगले स्थानीय तह निर्वाचनअघि नै सबै मतदातालाई नयाँ स्थानीय तहको ठेगाना उल्लेख भएको फोटोसहितको मतदाता परिचयपत्र दिने भएको छ । आयोगका सचिव मैनालीले मतदाता नामावलीको अन्तिम टुंगो लागेसँगै विशेष सुरक्षा फिचर भएको मतदाता परिचयपत्र छपाइ सुरु भएको बताए । आयोगका अनुसार मतदाता परिचयपत्रको छपाइ आइतबार रातिदेखि निर्वाचन आयोग परिसरभित्रै भएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र प्रमाणीकरण गर्न सकिने क्युआर कोड राखेको फोटोसहितको मतदाता परिचयपत्र परिचय वितरण गर्दैछ । मतपत्र छपाइका लागि आयोगले ओम्नी ग्रुपलाई जिम्मेवारी दिएको छ ।