राजनीति

भारतीय राजदूत पुरीले राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

काठमाडौं– नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन्। आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन्।
शनिबार नेपाल आएका पुरीले सोमबारदेखि आफ्नो जिम्मेवारी सम्हाल्ने भारतीय दूतावासले जनाएको छ। आइतबार नै नेपालका लागि दक्षिण अफ्रिकाकी गैर आवासीय राजदूत रोविना पाट्रिसिया मार्क्सले पनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छिन्। उक्त समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको थियो। राजदूतहरुलाई काठमाडौंस्थित होटल सांग्रिलादेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो।
त्यसअवसरमा प्रधानसेनापति राजेन्द्रबहादुर क्षत्री, निमित्त परराष्ट्र सचिव मणिप्रसाद भट्टराई तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो। दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत रविना प्याट्रिसिया मार्कस्ले राजदूत माकर्स् श्रीलङ्काका लागि दक्षिण अफ्रिकी कूटनीतिज्ञ हुन्।