काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र प्रहरीका बीच काठमाडौँमा झडप भएको छ। आन्दोलित राप्रपाका कार्यकर्ताले प्रहरीमाथि जथावाभी ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस समेत प्रहार गरेको छ।
निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट 'राजसंस्था' र 'हिन्दु राष्ट्र' हटाएको विरोधमा निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका राप्रपाका कार्यकर्ता र प्रहरीका बीचमा झडप भएको हो। झडपमा परी पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणासहित केही कार्यकर्ता समान्य घाइते भएका छन्।
जुलुससहित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न हिँडेका राप्रपा कार्यकर्तालाई प्रहरीले जमलको ज्योति भवनबाट अगाडि बढ्न नदिएपछि झडप भएको हो।
सामान्य घाइते भएका वरिष्ठ नेता राणाले शान्तिपूर्ण तवरले राजनीतिक गतिविधि सञ्चालन गर्दा प्रहरी दमन भएकोमा दुःख व्यक्त गर्दै निर्वाचन आयोगले सो विषयलाई पुनः विचार नगरेमा पार्टी सरकारबाट बाहिरिने बताए।
Comments