राजनीति

आयोगले निर्णय नसच्याए सरकार छाड्ने थापाको चेतावनी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले निर्णय नसच्याए सरकार छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् ।  पार्टीको चुनाव चिन्ह सार्वजनिक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री समेत रहेका राप्रपा अध्यक्ष थापाले निर्वाचन आयोगले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर निर्णय गरेको आरोप लगाए।
‘चुनावमा जाँदा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयंमले तय गर्ने हो’, उनले भने, ‘यहाँ त तँ दलले यो गर, तैले यो नगर भन्ने काम भयो। यो निर्वाचन आयोगको क्षेत्राधिकार भन्दा बाहिरको कुरा हो।’
निर्वाचन आयोगले राप्रपाको विधानमा रहेको हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था संविधानविपरीत भएको भन्दै हटाएपछि थापा निर्वाचन आयोगका विरुद्धमा खनिएका हुन। उनले निर्वाचन आयोगकै कारण बन्दै गएको चुनावी वातावरण बिग्रने चेतावनीसमेत दिए।
निर्वाचन आयोगको यो कदमपछि प्रमुख दलहरु मौन बसेको भन्दै उनले प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरे।