राजनीति

मोर्चाबाट समर्थन फिर्ता, असहयोग आन्दोलन शुरु

काठमाडौं– अन्ततः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको छ । बुधबार १ बजे देखि बसेको करिब ७ घण्टा लामो बैठकबाट सरकारलाई दिएको समर्थनको औचित्य समाप्त भएको भन्दै फिर्ता लिने निर्णय गरेको हो । तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालयमा बसेको बैठकले संबिधान संसोधन बिधेयक पारित गराउन सरकार उदासिन रहेको र सरकार गठन गर्दा भएको ३ बुंदे सहमति कार्यान्वयन नभएको भन्दै समर्थन फिर्ता लिनु परेको बताएको छ । बैठक पछि  सद्भावना पार्टीका अध्यक्ष  राजेन्द्र महतोले सरकारविरुद्ध विहीबारदेखि नै असहयोग र अवज्ञाको आन्दोलन सुरुगर्ने निर्णय भएको जानकारी दिए । 
प्रधानमन्त्री दाहाललाई मोर्चाले साउन ४ गते प्रधानमन्त्रि बन्न ३ बुंदे सहमति गर्दै पक्षमा मत दिएको थियो । मोर्चाको बैठकले स्थानीय तहमा तहमा खटिएर जाने कर्मचारीहरुलाई अवरोध गर्ने, चैत्र १३ गते सप्तरीको मलेठमा नेकपा एमालेले आमसभा गरेको स्थानमा श्रद्धान्जली सभा गर्ने र चैत्र १५ गते मंगलबार जिल्ला निर्वाचन कार्यालयमा धर्ना र घेराउ गरि अबरोध गर्ने निर्णय गरेको छ ।
त्यसअघि बुधबार विहान प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भेटेर सीमांकनलाई आयोगमार्फत टुंगो लगाउने र संविधान संशोधन विधेयकका बाँकी विषय अघि बढाउने प्रस्ताव अघि सारेका थिए । सीमांकनबारे भने स्थानीय चुनावपछि अर्को संशोधन गर्ने प्रचण्डको प्रस्ताव थियो । लगतै बसेको मधेसी मोर्चाको बैठकले प्रचण्डको प्रस्ताव अस्वीकार गर्दै आन्दोलन घोषणा गरेको छ । ‘कुरा त सकारात्मक नै गर्नु भएको थियो । तर, अहिलेसम्मको ट्राक रेकर्ड विश्वसनीय छैन । त्यसैकारण उहाँहरुले भन्नु भएको कुरा गर्न सक्नु हुन्छ कि हुन्न हामीलाई विश्वास दिलाउन सक्नु भएन’ तमलोपा अध्यक्ष महन्थ ठाकुरले भने । उनका अनुसार प्रस्ताव केही सकारात्मक भएपनि सरकारी प्रतिवद्धता अवसरवादी देखिएको छ, त्यही कारण आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय भएको हाे ।