नयादिल्ली– भारत भ्रमणमा रहेका उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहलाई भेटेका छन्। आंतकवाद सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँ दिल्ली पुगेका निधिले मंगलबार सिंहसँग भेटवार्ता गरेका हुन्।
गृहमन्त्री निधि सिंहलाई भेट्न उनकै निवास पुगेका थिए। भेटमा दुई देशबीचको सम्बन्ध, नेपालको शान्ति प्रकृया र विकासबारे कुराकानी भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए। गृहमन्त्री निधिले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। यसबारे सिंहले राजनीतिक स्थिरतापछि विकास निर्माणले गति लिने उल्लेख गर्दै एउटा असल छिमेकी भएको नाताले भारत सधैं नेपालमा स्थिरता हेर्न चाहेको बताए।
उनले दुई देशबीचको पुरानो सम्बन्धलाई उच्च प्राथमिकता दिदै भोलिका दिनमा पनि सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए। उपप्रधानमन्त्री निधिसँगै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सिंहलाई भेट्न पुगेका थिए। गृहमन्त्री निधिले भारतीय कम्यूनिष्ट पार्टीका नेता डीपी त्रिपाठीसँग पनि भेटवार्ता गरेका छन्।
Comments