राजनीति

स्थानीय तहमा ३६ हजार ६ सय ५४ प्रतिनिधि

काठमाडौं- स्थानीय तहको संख्या ७ सय ४४ भएसँगै निर्वाचनपछि ३६ हजार ६ सय ५४ जनप्रतिनिधि हुनेछन्। संविधानअनुसार गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष, नगर, उपमहानगर र महानगरमा प्रमुख र उपप्रमुख रहनेछन्। हरेक वडामा वडाअध्यक्षसहित पाँच जनप्रतिनिधि रहने व्यवस्था छ। यसरी जम्मा ३४ हजार नौ सय तीन प्रतिनिधि जनताबाट प्रत्यक्ष निर्वाचित हुन्छन्। 
दलित वा अल्पसंख्यक समुदायबाट गाउँसभामा दुईजना र नगरसभामा तीनजना जनप्रतिनिधिहरूद्वारा निर्वाचित हुन्छन्। यसरी निर्वाचित हुने एक हजार सात सय ५१ सहित कुल प्रतिनिधि ३६ हजार ६ सय ५४ पुग्छन्। जिल्ला समन्वय समितिमा भने स्थानीय तहकै प्रतिनिधिहरूमध्येबाट निर्वाचित हुने व्यवस्था छ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीका अनुसार ६ हजार ६ सय ८३ वटा वडामा पाँचजनाको दरले जनप्रतिधि निर्वाचित हुने व्यवस्था छ। अधिकारीले भने, ‘केही स्थानमा अझै समस्या देखिएको र मिलाउनुपर्ने भएकाले सायद राजपत्रमा सच्चाइएको भनेर प्रकाशित गर्ने कि भन्नेबारे छलफल भएको छ। त्यसो भएमा केही वडा फरक पर्न सक्छन्।’
– ४ महानगर– प्रमुख-उपप्रमुख : ८
-१३ उपमहानगर– प्रमुख-उपप्रमुख : २६
–२४६ नगरपालिका– प्रमुख-उपप्रमुख : ४९२
-४८१ गाउँपालिका– प्रमुख-उपप्रमुख : ९६२
–६,६८३ वडा– वडाअध्यक्ष : ६,६८३
-प्रत्येक वडामा चार सदस्य : २६,७३२ (प्रत्येक वडामा महिला एक र अल्पसंख्यक÷दलित एक सदस्य)
-गाउँसभामा अल्पसंख्यक-दलित २ सदस्य : ९६२
-महानगर, उपमहानगर र नगरसभामा दलित-अल्पसंख्यकबाट ३ सदस्य : ७८९
गाउँसभामा को–को ?
अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षहरू र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य र दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित सदस्य हुनेछन्। कम्तीमा दुईजना महिला हुनेछन्।
नगरसभामा को–को ?
नगरपालिका प्रमुख, उपप्रमुख, वडाअध्यक्षहरू र प्रत्येक वडाबाट निर्वाचित चारजना सदस्य तथा दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित नगर कार्यपालिका सदस्य हुनेछन्। कम्तीमा दुईजना महिला हुनेछन्।
वडामा को–को ?
वडामा एक अध्यक्ष र चार सदस्य गरी पाँचजना हुनेछन्। चार सदस्यमध्ये दुई महिला हुनेछन्। दुई महिलामा पनि एकजना दलित महिला हुनुपर्नेछ।
कति महिला जनप्रतिनिधि ?
जिल्ला समन्वय समिति ७५ वटा हुनेछन्। अब गठन हुने जिल्ला समन्वय समिति कम्तीमा ६ देखि नौ सदस्यीय हुनेछ। जिल्ला समन्वय समितिमा तीनजना महिला हुने भएकाले ७५ वटा जिल्ला समन्वय समितिमा दुई सय २५ जनप्रतिनिधि महिला हुनेछन्। संविधानको धारा २२२ र २२३ अनुसार प्रत्येक गाउँसभा र नगरसभामा दुईजना महिला निर्वाचित हुनेछन्। यसरी हेर्दा ६ हजार ६ सय ८३ वटा वडाबाट १३ हजार तीन सय ६६ महिलाले नगरसभा र गाउँसभामा प्रतिनिधित्व गर्न पाउनेछन्।
कति दलित जनप्रतिनिधि ?
संविधानको धारा २१६ अनुसार हरेक नगरसभा र गाउँसभामा तीनजना दलित वा अल्पसंख्यक प्रतिनिधि हुनेछन्। एक हजार चार सय ८८ जना दलित वा अल्पसंख्यक नगर र गाउँसभामा प्रतिनिधि हुनेछन्।