काठमाडौं– सप्तरीको राजविराजमा पार्टीले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा हस्तक्षेपका विरुद्धमा कार्यकर्ता पंक्तिलाई स्पष्ट पार्ने भन्दै नेकपा एमालेले विहीबार काठमाडौंमा बृहत् भेलाको आयोजना गर्ने भएको छ ।
पार्टी कार्यालय धुम्बाराईमा बसेको केन्द्रीय सचिवालयको बैठकले काठमाडौंमा तीन नम्बर प्रदेशका अगुवा कार्यकर्ताको भेला बोलाएको हो । राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लाहरुमा जिल्ला आमसभा आयोजना गर्ने निर्णय पनि एमालेले गरेको छ । राजविराज घटनापछि मधेसका विभिन्न जिल्लामा एमालेका पार्टी कार्यालय, नेता–कार्यकर्ता तथा सर्वसाधारणका घरहरु, सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरिएकोमा एमालेले त्यस्ता क्रियाकलाप रोक्न चेतावनी दिएको छ ।
एमालेका नेता–कार्यकर्तालाई धम्की दिने, कुटपिट गर्ने, कालोमोसो दल्ने, घरबाट विस्थापित गर्ने जस्ता अमानवीय र अराजनीतिक कामहरुको निन्दा गर्दै त्यस्ता अलोकतान्त्रिक र आपराधिक क्रियाकलापहरु अबिलम्ब रोक्न चेतावनी दिन दिएको छ । आफ्ना नेता–कार्यकर्ता र पार्टी कार्यालयहरुको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउन सरकारसँग एमालेले मागसमेत गरेको छ । तीन दिनका लागि स्थगित भएको एमालेद्वारा सञ्चालित मेची–महाकाली राष्ट्रिय अभियान पर्सी फागुन २७ गते हेटौंडाबाट पूर्ववत सुचारु हुने पनि एमालेले जनाएको छ ।
Comments