राजनीति

सप्तरी घटना अपडेटः तीन जनाको मृत्यु

मोर्चा र एमालेको आकस्मिक बैठक
काठमाडौं– एमालेको मेची–महाकाली अभियान अन्तर्गत सोमबार सप्तरीमा भएको कार्यक्रममा मधेसी मोर्चाले विरोध प्रदर्शन गरेपछि प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा गोली चलेको हो। प्रहरीको गोली लागेर मोर्चाका ३ जना कार्यकर्ताको मृत्यु भएको  छ ।
मोर्चाका नेता एवं राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ । त्यस्तै घाइते दुई जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा दिगम्बर यादव रहेको छ भने अर्का एक जनाको नाम खुल्न बाँकी छ ।
मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको छ । उनीहरुलाई राजविराज फिर्ता ल्याइएको छ । ‘घाइते मध्ये छ जनालाई धरान लैजाने क्रममा दुईजनाको मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याइँदैछ,’ मोर्चाका एक स्थानीय नेताले भने ।
यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले आफूलाई एक जनाको मृत्यु भएको खबर आएको बताएका छन् । मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ । दोहोरो झडपका क्रममा २० जना प्रहरी पनि घाइते भएको जनाइएको छ ।
सप्तरीको राजविराजका भएको झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम हान्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ । एमालेको कार्यक्रम स्थलमा जाने प्रयास गर्दा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच दिनभर पटक–पटक झडप भएको थियो ।

मोर्चाको आकस्मिक बैठकः
नेकपा एमालेको मेची महाकाली अभियानको विरोधका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आकस्मिक बैठक बोलाएको छ । बैठकमा सप्तरीको घटनाको समिक्षा तथा सरकारबाट समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।
 

एमालेको आकस्मिक बैठकः
राजविराजमा गोलीकाण्ड भएपछि एमाले स्थायी कमिटीका नेताहरु सोमबार साँझ सप्तरीको रुपनगरमा आकस्मिक बैठकमा जुटेका छन् । सप्तरीको रुपनगरस्थित एमाले नेता सुमनराज प्याकुरेलको घरमा एमालेको आकस्मिक बैठक बसेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी ओली, बरिष्ठ नेताहरु माधकुमार नेपाल, झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल लगायत शीर्ष नेताहरुको टीम सहभागी छ । बैठकले आजको घटनाको समीक्षा गर्नुका साथै भोलिदेखि हुने मेची महाकाली राष्ट्रिय अभियानबारे निर्णय लिने नेताहरुले बताएका छन् ।
एमालेले फागुन २१ बाट झापादेखि सुरु गरेको मेची महाकाली अभियानको आज तेस्रो दिन हो । मंगलबार सिरहा र जनकपुरमा सभा गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम छ । तर, सोमबार राजविराजमा भएको गोलीकाण्डको घटनाले एमालेको भावी कार्यक्रम थप जोखिमपूर्ण हुने अवस्थामा पुगेको छ । यो स्थितिमा अब कसरी अगाडि बढ्ने भनेर नेताहरु छलफलमा जुटेको बताइएको छ । यसैबीच एमालेले सप्तरीको कञ्चनपुरमा सोमबार बेलुका गर्ने भनेको जनसभा र सांस्कृतिक कार्यक्रम स्थगित भएको छ । राजविराजको परिस्थितिलाई मध्यनजर गर्दै साँझ परिसकेको अवस्थामा कार्यक्रम गर्नु उपयुक्त नहुने भएकाले कञ्चनपुरको कार्यक्रम स्थगित गरिएको एमालेले जनाएको छ ।