काठमाडौं– नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान सुरु भएको छ । कार्यकर्ता र समर्थकहरुको निकै ठूलो उपस्थितिमाझ एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा र पार्टीको झण्डा फहराएर मेची महाकाली अभियानको शुभारम्भ गर्नुभएको हो । एमालेले झापाको कांकडभिट्टाबाट मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको हो ।
संविधानप्रतिको भ्रम, संविधानले ग्यारेन्टि गरेका अधिकारबारे जानकारि दिन र एमालेप्रति फैलाइएको भ्रम चिर्न अभियान सुरु गरिएको एमालेले जनाएको छ । अभियानको सुरुवात गर्दै अध्यक्ष केपी शर्मा ओलीले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने बताउनुभयो । एमालेले सुरु गरेको मेची महाकाली अभियान अन्तर्गत शनिबार मोरङ र सुनसरीमा सभा हुँदैछन् । झापाको दमकदेखि बिहान १० बजेपछि अघि बढ्ने अभियान अन्तर्गत मोरङको विराटचोक र सुनसरीको इटहरीमा सभा हुने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
विराटचोकका सभालाई नेताहरु बामदेव गौतम र भीम रावलले सम्बोधन गर्नुहुनेछ भने इटहरीमा नेता माधवकुमार नेपालले सम्बोधन गर्ने भट्टराईले बताउनुभयो । ‘संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकता र सामाजिक सद्भाव’ नारासहित अभियान शनिबार झापाको काँकडभिट्टाबाट सुरु भएको हो ।
चैत ५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुर्खेतमा पुगेर टुंगिने अभियान अन्तगर्तत पूर्व–पश्चिम राजमार्गका ३३ ठाउँमा आमसभा, र्याली र साँस्कृतिक कार्यक्रम गर्ने एमालेले जनाएको छ ।
१० हजार स्वयंसेवक परिचालन हुने अभियानमा सबैजसो केन्द्रीय नेता सहभागी हुने र सबै नेतालाई पार्टी कार्यकर्ताकै घरमा खानपान र बस्ने व्यवस्था मिलाइएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
Comments