विचार

पहिचानले मुलुक बिखण्डन हुँदैन

रेशम चौधरी
पहिचानको परिभाषासमेत नबुझ्नेसँग मुलुक विकासको के अपेक्षा गर्नु, खोइ ? के साँच्चिकै पहिचानसहितको संघीयताको परिभाषा नबुझेको हो र ? कि बुझेर पनि बुझ पचाएको ? अहिले धेरैले पहिचानको कुरा गर्दा जातीयताको कंकड वास्स मिसाइ दिन्छन् र संघीयताको भोजनलाई अस्वादिलो बनाइ दिन्छन । पहिचानले मुलुक बिखण्डन हुन्छ भन्नेहरुलाई ‘अध्यन नगरिकनै पन्डित्याइँ गर्ने धुर्त बाजेहरुको समुह हो’ भन्दा फरक नपर्ला भन्ने होइन कि, हो नै भन्नु पर्दछ । 
बिचार स्थापनाका लागि माक्र्स, लेनिन, माओका कुरा गर्ने, बिपीका बिचार अनुसरण गर्ने हाम्रा अग्रज भनाउँदा नेताहरुले विश्वको पहिचानको दुइ÷चार अक्षर नपढेका होलान् भनेर कसरी पत्याउने ? पढेर बुझ पचाउनेहरुलाई नै भनिन्छ, पुरातन सोचका ढोङ्गी । जनतासमक्ष विश्वको समृद्धिशाली देश स्विट्जरल्याण्डको सपना बाँड्ने नेताहरु आफ्नै मुलुकका जनतालाई पहिचान दिँदा त दाँतबाट पसिना झार्छन् भने, समाबेशी मुलुकको कल्पना त झन् एकादेशको दन्त्य कथा जस्तै होला । समुन्नत समाजको स्थापनाका लागि जबसम्म समाबेशी मुलुक बन्दैन तबसम्म दबिएका, थिचिएका, शोषितबर्ग दासताको जंजीरमा जकडी नै रहनेछन् । मुण्टो उठाउने बित्तिकै डण्डा बर्साउने खेलले केहि दिन बाजी मार्न त सकिएला तर बिजय असम्भव छ ।
अहिले पहिचानका परिभाषा लागू गर्न खोज्नेहरु साँवा अक्षर नपढेका गवाँर पक्कै होइन, संसारका सबै मुलुकको राजनैतिक र आर्थिक विश्लेषण गर्ने क्षमता पनि हामीसँग छ । हामीले हाम्रै देशको हिजोका सबै ब्यबस्था नीतिनियमलाई स्विकार्दै आएका होइनौं र ? खसान पहिचानको दौरा सुरुवाललाई राष्ट्रिय पोशाक स्वीका¥यौँ, गाईलाई राष्ट्रिय जनावर स्वीका¥यौँ, जे जे लागू भए त्यही त्यही स्वीका¥यौँ । सबै स्वीकार्दा स्विकार्दै कुनैकुनै कुरामा हाम्रो मतभेद भयो भन्दैमा आज हामीलाई देशद्रोही भन्न मिल्छ र ? आधुनिकता को कुरा गर्ने, मुलुक विकासको कुरा गर्ने, विकासको साझेदारीमा यो गर्दा कसो होला ? भन्ने बित्तिकै मुलुक बिखण्डनको आरोप लगाउने, यो कुन प्रजातान्त्रिक, लोकतान्त्रिक मुलुकको न्याय हो ? अलग धर्मका प्रचारक एकनाथको विदेश सयरमा सबै दलका नेता लाइन लागेर जाने, अनि धर्मबिरोधिको बिल्ला हामीलाई भिराउने ? आधुनिक मुलुकको निर्माणमा धर्म निरपेक्षताको जरो कसले गाड्यो ? आफैले निर्णय गर्ने, अनि निर्णय लागू गर ! भन्नेहरु दोषी हुने ? अरे वाह ! शासन पद्धतिको पनि सीमा हुन्छ, दमनले केहि दिन, बर्ष त शासनको रथ दौडिएला तर लङ्गडो घोडाले बाजी भने पक्कै जितिन्न ।
आफैले आफ्नो बिगत कोट्टयाएर हेर्नुस्, यो मुलुकलाई अनिर्णयको बन्दी कसले बनाउँदैछ ? तपाईंको स्वार्थका लागि खोलिएका संगठनहरु भातृसंगठन हुने, अनि हाम्रा समुदायको मान्छेले खोलेको संगठन चाँही जातीय हुने ? कि तपाईंको रगतमा केवल नश्लबादको धारो मात्रै बग्छ ? अहिले हामीहरुसँग गरिएको व्यबहार र तपाईंको क्रियाकलापले यहि पुष्टि गर्दैछ । तपाईंको नजर एकात्मक छ, व्यबहार पनि एकात्मक छ । स्कूलसमेत नगएका, केवल संस्कृतका दुईचार श्लोक जानेका गुरुले पढाएको बिद्या पढ्न नसकेर शैक्षिक प्रमाणबाटै बञ्चित भएका ठूलो झुण्डले प्रश्न सोध्न त बाँकी नै छ । आचार्य, शास्त्री पढेर यो देशको उच्च ओहोदाको जागीर खान हुने, अनि हाम्रा मुन्धुम, बरकिमार पढ्नेहरू चाँही हलो जोत्न बाध्य हुने ? खोइ ! न्याय ? हामीले त्यसै भनेका छैनौँ, एकात्मकबादीबाट शासित भयौं भनेर ।
पहिचानको कुरा आउने बित्तिकै ‘यो हामीलाई देशबाट लखेट्ने षड्यन्त्र हो’ भन्छन् ठूला राजनैतिक दलका शीर्ष नेताहरू । लखेट्ने, लखेटाउने खेल कसले खेलिरहेको छ महासय ? आवाजबिहीनको आवाज बन्ने बित्तिकै हामी लखेटिएका छौँ, यसको सबैभन्दा दरिलो प्रमाण मै हो । आजसम्म हाम्रो बर्गको कसैले पनि उच्च ओहोदाको रथ हाँकेको छैन । अरुले हाँकेको रथको घोडा मात्रै बनेका छौँ हामी । हामी मुलबासी हौँ भन्नेसमेत प्रमाण दिनुपर्छ हामीले । झण्डै कुन विद्वानले DNA परिक्षणको अविस्कार गरिदिएका थिए र हामी प्रमाण पेश गर्न पाएका छौँ नत्र थुतुनोको कानुनले हामीलाई उहिल्यै दमन गरिसक्थ्यो ।
हो ! गल्ती हाम्रा अगुवाबाट पनि भएको छ, यो नै हाम्रा लागि सबैभन्दा ठूलो अभिसाप हो । केहि पहिचानका पुत्रहरु मन्त्रीको लालचमा डुबेका छन भने त्यो उनीहरुको निजी लालसा हो, हाम्रो सम्पूर्ण पहिचानबादिको दोष होइन । इतिहासले भोलि तिनीहरुलाई पहिचानबादीको कठ्घरामा पक्कै उभ्याउनेछ । पहिचान कि आमाको लाम्टो चुसेर दुधको अभिभारासमेत नतिर्ने कपुतको मुल्याङ्कन के इतिहासले नगर्ला ? लोभ र लालचले गुलियो खान बाध्य बनाउँछ, धेरै गुलियो खाइयो भने सुगर रो लाग्छ, सुगरले आफैलाई सिध्याउँछ ,हाम्रा कपुतहरुलाई चेतना भया !
हामीले अलग देशको लालपूर्जा मागेका छैनौं, पहिचानसहितको अलग प्रदेश मागेका मात्रै छौँ । हामीलाई हाम्रो पहिचानको स्थान दिइयोस, पहिचानका नाममा जातीय उपमा नभिडाइयोस् । उपल्लो जातबाट तल्लो जातमा कसरी झारिन्छ ? हामीले तपाईंहरुबाटै सिकेका हौँ । बाहुनको जातिको पनि बर्ग हुने, बाहुनले क्षत्री बिहे गरे हमाल ठकुरी हुने ‘ त्यस्तै खड्का हुँदै तल्लो जातसम्मको पगरी गुथाउने संस्कार तपाईंको हो । हामी मुलबासीहरुको जातिमा न त उपल्लो हुन्छ न त तल्लो हुन्छ । हाम्रो आफ्नै संस्कृति र परम्परा छ, हो ! त्यही पहिचान हामीलाई चाहिएको छ । आफ्नै बर्गलाई बिभाजित गरेर दलित भनी जुन अवहेलना तपाईंले गर्नुभएको छ, त्यसमा समेत हाम्रो गम्भीर आपत्ति छ । यिनै अपमानित, अवहेलित बर्गलाई नै समाबेशी संविधान चाहिएको हो ।
समयमै भुल स्वीकार्नु बुद्धिमानी हो, हामी यहि अपेक्षाको पर्खाइमा छौँ, तेरो र मेरो भावना हामीमा छैन जुन तपाईले आरोप लगाउनुहुन्छ । असन्तुष्टि भुसको आगो झैँ सल्किरहेको छ, सानो आगो पानीले निभ्छ तर ठूलो आगोको लप्कालाई पानी पेट्रोल बन्छ, यो पनि थाहा होला । बाल्मिकी र द्रोणाचार्यभन्दा विद्वान नेतालाई हामीले सचेत गराउने हो, अर्ती दिन सकिदैन । दुधको दुध, पानीको पानी तपाईंको मन्त्र हो । आफै जान्नुस, आफै बुझ्नुस् । खेलकुदमा झेल्ली गरियो भने त जितिन्छ पनि, तर राजनीतिमा झेल्लीले बिद्रोह पैदा गर्छ । यस्तो झेल्ली राजनैतिक खेलले भोलि जनताको झ्यालखानामा पु¥याउला । चेतना भया !
(तपाई भन्ने शब्द शासकका लागि प्रयोग भएको हो)