राजनीति

सभापति देउवालाई मानार्थ विद्यावारिधि

काठमाडौं– भारत भ्रमणमा रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा मानार्थ विद्यावारिधिबाट सम्मानित हुनुभएको छ । नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु बिश्वबिद्यालयमा आयोजित बिशेष कार्यक्रम देउवालाई मानार्थ विद्यावारिधी प्रदान गरिएको हो । सभापति देउवालाई विश्वविद्यालयका उपकुलपति गजदिशकुमारले मानार्थ विद्यावारिधी प्रदान गर्नुभयो । 
विश्वविद्यालयमा भएको सम्मान कार्यक्रमा सभापति देउवाले हालै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपालको तीन दिने राजकीय भ्रमणले दुई देशको सम्बन्ध थप उचाईमा पुगेको बताउनुभयो । त्यस्तै, सभापति देउवाले आइतबार भारतीय नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएको छ भने सोमबार पनि भेटवार्तालाई निरन्तरता दिनुहुनेछ । यसअघि शनिबार गोवामा भारतीय जनता पार्टी निकट ‘इण्डिया फाउण्डेसन’ ले आयोजना गरेको ‘इण्डिया आइडियाज कन्क्लेभ–२०१६’मा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रममा भाजपा अध्यक्ष अमित शाह, भारतका अर्थमन्त्री अरुण जेट्ली, रक्षामन्त्री मनोहर परिकर, पेट्रोलियम मन्त्री धर्मेन्द्र प्रधान, विदेश राज्यमन्त्री एमजे अकवरलगायत सहभागी भएका थिए । सभाति देउवा इन्डिया फाउन्डेसनको कार्यक्रममा भाग लिन शुक्रबार बिहान भारत प्रस्थान गर्नुभएको थियो । सभापति देउवा मंगलबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

२२ कार्तिक २०७३ ।