काठमाडौं– भारतका राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपालको राजकीय भ्रमणको तयारी पूरा भएको छ । भारतीय राष्ट्रपतिको स्वागतका लागि काठमाडौँका मुख्य स्थल स्वागतद्वार र चोकचोकमा दुई देशका राष्ट्रिय झण्डा राखिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सवार हुने मुख्य सहर, चोक, आवासस्थल र राजधानीका केन्द्रमा स्वागत तथा सजावट गरिएको हो ।
स्वागतद्वारमा अङ्ग्रेजीमा ‘भारतमा महामहिम राष्ट्रपति प्रणव मुखर्जीलाई नेपालमा हार्दिक स्वागत छ’ लेखिएको छ । विमानस्थल, नयाँबानेश्वर, रामशाह पथ, शीतलनिवास, कालीमाटी, बौद्ध, गौशालालगायतका स्थानमा स्वागतद्वार बनाइएको छ । सहरमा सरसफाइ, रङ्गरोगन र ब्यानर राख्ने क्रम जारी छ । झन्डा राख्ने कामको संयोजन नेपाली सेनाको पल्टनले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा १८ वर्षपछि भारतीय राष्ट्रपतिको नेपाल भ्रमण तय भएको हो । भारतीय राष्ट्रपति मुखर्जीले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतका बिभिन्न राजनीतिक दलका नेताहरुसँग औपचारिक भेट गर्ने कार्यक्रम रहेको छ ।
नेपालमा रहँदा मुखर्जीेले पशुपतिनाथमा दर्शन गर्ने, पोखरामा भारतीय भुतपूर्व सैनिकहरुको कार्यक्रममा सहभागी हुने, जनकपुरको जानकी मन्दिरमा पूजा गर्ने र काठमाडौं विश्वविद्यालयको दिक्ष्ाँन्त समारोहमा समेत सरिक हुने कार्यक्रम रहेको छ । नेपाल सकरारले राष्ट्रपति आउने दिने सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ ।
१६ कार्तिक २०७३ ।
Comments