काठमाडौं– संविधान संसोधनमा सहमति जुटाउने प्रयासमा सत्तारुढ दल र मधेस केन्द्रीत दलबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा आइतबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत सत्तारुढ दल र मधेस केन्द्रीतबीच छलफल भएको हो ।
छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र मधेस केन्द्रीत दलका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायत सहभागी थिए । छलफल सकारात्मक भएको नेताहरुले बताएका छन् । बैठकमा संविधान संसोधनका मुलभुत सिमाकंन, राष्ट्रिय सभाको प्रतिनिधित्व, भाषा तथा नागरिकताको विषयमा दुईपक्षीय छलफल भएको छ । बैठकमा प्रधानमन्त्री दाहालले सिमांकन, प्रतिनिधित्व, भाषा र नागरिकताका विषयमा समन्वय गर्न सक्ने गरि परिमार्जन प्रस्ताव राखेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले राखेको प्रस्तावमा नेपाली कांग्रेसका सभापति देउवा, राप्रपाका अध्यक्ष पशुपति शमसेर राणा लगायत नेताले सहमति जनाएको उपप्रधान तथा गृहमन्त्री निधीले जानकारी दिनुभयो । मधेस केन्द्रीत दलका केही नेताले प्रस्ताव अघि ल्याउनुहोस अनि छलफल गरौला भन्ने प्रतिक्रिया दिएको पनि उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्रीले अघि सारेको प्रस्तावमाथि आफुहरुले धारणा राखेको तराई मधेस लोकतान्त्रिक पार्टीका सह अध्यक्ष हृदयश त्रिपाठीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले सात प्रदेशलाई नै मान्दै त्यसका सिंमाकनमा सामान्य हेर फेर गर्ने, भाषाका सम्बन्धमा भाषा आयोगको सुझावको आधारमा संविधानको अनुसुचीमा राख्ने गरी चार बुदे प्रस्ताव अघि सार्नुभएको थियो । त्यसैगरी राष्ट्रिय सभामा प्रतिनिधित्वको सम्बन्धमा विद्यमान व्यवस्था ५÷ ५ जना को सट्टा ३ वा ४ गर्ने तथा नागरिकतामा देखिएको समस्या सम्बोधनका लागि अन्तरिम संविधान अनुसार नै नागरिकताको प्रावधान राख्ने ढंगले संसोधनको प्रस्ताव पेश गर्नुभएको थियो ।
Comments