राजनीति

संघीय चुनावका लागि आवश्यक विधेयक कार्तिक मसान्तभित्र ल्याउने तयारी

काठमाडौं– सरकारले संघीय चुनाव लागि आवश्यक पर्ने सबै विधेयक कात्तिक मसान्त भित्र ल्याउने तयारी गरेको छ ।  कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले पत्रकार सम्मेलन गरी कानुनी अड्चनका कारण निर्वाचन नहुने अवस्था श्रृजना हुन नदिने जनाएको हो । मन्त्रालयले संघीय निर्वाचनका लागि आवश्यक पर्ने ऐनहरु बनाउनका लागि आफुहरु दृढ र प्रतिवद्ध रहेको भन्दै कात्तिक मसान्त सम्ममा सबै विधेयकलाई व्यवस्थापिका संसदमा पेश गरिसक्ने बताएको हो । 
संघीय निर्वाचनका लागि आवश्यक पर्ने जम्मा ८ वटा ऐन मध्ये राजनीतिक दल सम्बन्धी, मतदाता नामावली, निर्वाचन आयोग ऐन सम्बन्धी ३ वटा विधेयक व्यवस्थापिका संसदमा पेस भईसकेका छन् । स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयकमा कानुन मन्त्रालयले सहमति दिईसकेको छ । सो विधेयक गृहमन्त्रालयबाट मन्त्री परिषद्मा मस्यौदा स्वीकृतका लागि जाने क्रममा छ  ।
संघीय निर्वाचनका लागि आवश्यक पर्ने अन्य प्रतिनिधि सभा विधेयक, राष्ट्रियसभा निर्देशन र प्रदेशसभा सदस्य विधेयक बनाउन बाँकी छ । ती विधेयक बनाउनका लागि पहिला राजनितिक तहमा नितिगत निर्णय भई मन्त्रालयलाई निर्देशन आउनुपर्ने सचिव ढुंगानाले बताउनुभयो । संविधान कार्यान्वयनका लागि १ सय १० वटा विषयमा संघीय कानुन, २२ वटा विषयमा प्रदेश कानुन र ६ विषयमा स्थानीय कानुन बनाउनुपर्ने छ । ती मध्ये २८ वटा विधेयक मात्र व्यवस्थापिका संसदबाट पास भइसकेका छन् । ३९ वटा विधेयक व्यवस्थापिका संसदमा विचाराधिन छन् । कानुन मन्त्रालयले व्यवस्थापिका संसदमा विधेयक पेश गर्नका लागि ८ वटा विषयमा स्वीकृत दिईसकेको छ ।
१२ कार्तिक, २०७३ ।