विश्वकै सबैभन्दा शक्तिशाली र अग्रणी राष्ट्र अमेरिकाको ४५औं राष्ट्रपति ‘को’ बन्ला, डेमेक्रेटिक पार्टीकी राष्ट्रपतीय उदारवादी उम्मेद्वार हिलारी क्लिन्टन या रिपब्लिकन पार्टीका अनुदारवादी उम्मेद्वार डोनल्ड ट्रम्प ? यो प्रश्नको उत्तर खोज्न अब धेरै दिन कुर्नु पर्ने छैन । अमेरिकी जनता मात्र होइन विश्वभरका जनता अहिले आगामी नोभेम्बर ८ तारिख हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणामलाई अधैर्यतापूर्वक पर्खिरहेका छन् । लिबरल बिचाराधाराकी हिलारी क्लिन्टनलाई सबैजसो राष्ट्रिय चुनावी सर्वेक्षणले आप्रवासी, महिला र मुस्लिमहरुविरुद्ध विष बमन गर्ने डोनाल्ड ट्रम्पभन्दा ८÷१० प्रतिशतले अगाडि रहेको देखाएको छ । हालसम्मका सबै अमेरिकी ४४ राष्ट्रपतिहरु र ४७ उपराष्ट्रपतिहरु पुरुष रहेका छन् । यसपाली चुनावी सर्वेक्षणले इन्कित गरे जस्तै साँच्चै अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउला त ?
हिलारीको लहर
निर्वाचनको दौरान उर्लेको हिलारी लहरलाई हेर्दा हिलारी पहिलो अमेरिकी महिला राष्ट्रपति बन्ने कुरा अब निश्चित देखिएको छ । हालसालै बिज्ञान, प्रबिधि र अर्थशास्त्रमा विश्व प्रसिद्ध नोबेल पुरस्कार बिजेता ७० जना बैज्ञानिकहरुले संवैधानिक सरकार, स्वतन्त्रताको रक्षा एबम् बिज्ञान प्रबिधिलाई प्राथमिकता दिने राष्ट्रपतिको आवश्यकता रहेको उल्लेख गर्दै हिलारी क्लिन्टनलाई समर्थन गरेर प्रेस वक्तब्य जारी गरेका छन् । हिलारी क्लिन्टन, नाम कहलिएकी पूर्ववकिल, विश्वभरनै लोकप्रिय पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टन कि श्रीमती, विश्व प्रसिद्ध डोप्लोम्याट र सफल राजनेत्री हुन् । हिलारी महिला र बालबालिकाहरुको हकअधिकारको लागि लड्ने अग्रणी विश्व नेताको रुपमा पनि सुपरिचित छिन् । हिलारीले सन् १९९५ मा बेईजिङमा सम्पन्न संयुक्त राष्ट्र संघको चौथो विश्व नारी सम्मेलनमा ‘वूमन्स राइट्स ईज हुमन्स राईट्स’ (महिला अधिकार मानवअधिकार हो) भन्ने हाल विश्व चर्चित भनाई व्यक्त गरेकी थिइन् जुन बिचारले विश्वभर महिला शसक्तिकरणको नौलो उर्जा थपेको थियो ।
हिलारीले राष्ट्रपति बाराक ओबामाको पहिलो कार्यकाल सन् २००९÷२०१२ मा सेक्रेटरी अफ स्टेटको रुपमा ११२ देशको भ्रमण गरी रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यू बुसको कार्यकाल सन् २००१÷२००९ अबधिमा खस्केको अमेरिकी शाख र बिग्रेको डिप्लोमेसीलाई सुमधुर पार्न सफल भएकी थिइन् ।
ट्रम्पको तनाव
उता रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई ‘अमेरिकन ड्रिम’ अर्थात ‘अमेरिकी सपना’ को मूल्य र मान्यताको विरुद्ध उभिने खलपात्रको रुपमा लिन थालिएको छ । ट्रम्पले आफू एक सफल ब्याबसायी रहेको दावी गर्दै आए पनि अहिलेसम्म आफ्नो ट्याक्स रिपोर्ट सार्बजनिक गर्न अस्वीकार गर्दै आएका छन् । न्यूयोर्क टाइम्सलगायतका मिडियाको रिपोर्टअनुसार उनले आफ्नो ब्याबसायमा घाटा देखाएर वर्षैंदेखि फेडेरल (संघीय) ट्याक्स तिरेका छैनन् । ट्रम्पले आफ्नो संकुचित पुरुषवादी सोंच र मानसिकतालाई उदांगो पार्दै महिलाहरु विरुद्ध पनि बिना हिच्किचाहट विष बमन गर्दै आएका छन् । उनले निसङ्कोच महिलालाई मोटो सुंगुर (फ्याट पिग), कुकुर्नी (डग) असभ्य (स्लोब) र घिनलाग्दो जनावर (डिस्गटिङ एनिमाल) को रुपमा प्रस्तुत गरेका छन् । हुँदा, हुँदा, ९ जना महिलाहरुले ट्रम्पले आफ्नो संबेदनशील अंगहरुमा छोएको र इच्छा बिपरित चुम्बन गरेको आरोप लगाएका छन् । उनले खोलेका क्यासिनोहरु टाटपल्टिएर ब्याङ्कक्रप्सी फाईल गर्नु परेको तथ्य एकातिर छ भने उनको नाममा खुलेको ट्रम्प युनिभर्सिटी, (जुन अहिले बन्द भैसकेको छ) ले ट्यूसन शुल्क तिरेअनुसारको पाठ नपढाएको कारण मुद्दा खेप्नु परेको छ । अझ दुर्भाग्यको कुरा, ट्रम्पले अमेरिका छिरेर बसोबास गरेका बैधानिक कागजपत्र नभएका आप्रवासी (इमिग्रेण्ट) हरुलाई आ–आफ्नो देश फर्काईनु पर्ने जिकिर गर्दै आएका छन् भने आप्रवासी प्रवेश रोक्न मेक्सिको र अमेरिकाको सीमानाबीच पर्खाल खडा गर्ने बताउँदै मेक्सिकन आप्रवासीहरुलाई ‘बलात्कारी’ र लागू औषधि ओसारपसार र अपराध गर्ने मान्छेहरुको रुपमा उल्लेख गरेका छन् । अर्कोतिर, मुस्लिमहरुलाई अमेरिका छिर्न निषेध गर्ने उल्लेख गर्दै उनले अमेरिकी समाजमा सद्भाव हैन घृणा र बिद्वेस फैलाउने, सामाजिक र धार्मिक एकता खल्बल्याउने काम गरेका छन् ।
विभेदकारी र असहिष्णु बिचारलाई बहिस्कार गरौं
डोनाल्ड ट्रम्पको विभेदकारी र असहिष्णु बिचारलाई जर्ज वालासको बिचारसँग तुलना गर्र्दै अमेरिकाको प्रजातान्त्रिक मुल्य, मान्यतालाई धज्जी उडाउन लागिएकोमा अधिकांश अमेरिकन र अमेरिकी मिडिया ट्रम्पको विरुद्धमा लागेका छन् । त्यसै कारण ट्रम्पले अमेरिकाको निर्वाचन प्रणालीनै धाँधलीयुक्त भएको दावी गर्दै आफूले चुनाव हारेमा हार स्वीकार गर्न नसक्ने बताएर अमेरिकी प्रजातन्त्रको आधारभूत संरचना निर्वाचन पद्धतिलाई नै चुनौती दिए । सन् १९६३ अर्थात आजभन्दा ५३ वर्षअघि जर्ज वालासले आफू अलाबामा राज्यको गभर्नर निर्वाचित भएपछिको उद्घाटन समारोहमा भनेका थिए – ‘सेग्रेगेसन नाउ, टुमरो, फरेभर’ अर्थात ‘छालाको रंगको नाउँमा छुट्याउने काम अहिले, भोलि र सदा रहिरहनेछ ।’ तर जर्ज वालासको बिचार धेरै वर्ष टिकेन । ट्रम्पको बिचार पनि आगामी नोभेम्बरपछि सदाको लागि इतिहासको गर्भमा नासिनु पर्दछ, नासिनेछ । सन् १९६५ को भोटिङ राइट्स एक्टबाट अमेरिकाका काला जातिका जनताले मतदान गर्न पाए । त्यसको ४३ वर्षपछि अर्थात सन् २००८ को राष्ट्रपतीय चुनावबाट काला जातिका आप्रवासी बुवा र गोरा आमाको छोरा बाराक ओबामा अमेरिकाको पहिलो राष्ट्रपति बन्न सफल भए ।
‘डाईभर्सिटी ईज यूनिटी’
अमेरिकामा ‘डाईभर्सिटी ईज यूनिटी’ (बिबिधतामा एकता) त्यसै भनिएको होइन । अमेरिका ‘मेल्टिङ पट अफ इम्मिग्रेण्ट’ (आप्रवासीहरु बिलय हुने ठाउँ) को रुपमा विश्व बिख्यात छ । यहाँ संसारभरका मानिसहरुको बेरोकतोक बसोबास रहिआएको छ । अर्को कुरा, अमेरिकाको सपना (अमेरिकन ड्रिम) भन्ने बिख्यात भनाई त्यतिकै चलेको होइन । यो भूमिमा सबैभन्दा पहिले हजारौं वर्ष अघि मीठो खाने कुराको खोजीमा नेटिभ अमेरिकनहरु साईबेरिया हुँदै यहाँको मलिलो बस्तीमा बसोबास गर्न पुगेका थिए । १५औंँ शताब्दीको शुरुमा ‘कृस्टोफर कोलम्बस’ले अमेरिका पत्ता लगाएपछि युरोपियनहरु अमेरिकामा आफ्नो अमेरिकन ड्रिम पुरा गर्न यानेकी सुखजिलो जीवन जिउन अमेरिका ओइरिएका थिए । अमेरिका आईपुगेका गोरा जातिले अफ्रिका काला जातिका मानिसहरुलाई दासको रुपमा कज्याउन अमेरिका ल्याएका थिए । त्यसै कारण गोरा र काला जातिबीच विभेद र असमानताको ठूलो खाडल सृजना भएको थियो जुन असमानाताको केहि पाटो अहिले पनि कायमै छ । तर समयक्रममा ‘डाईभर्सिटी ईज यूनिटी’ कै कारण अमेरिका विश्वको सबैभन्दा धनी र सामरिक हिसाबले सबैभन्दा शक्तिशाली देश बन्न सफल भयो ।
नयाँ भविष्य र इतिहासको निर्माण
यसपाली अमेरिकी जनताले आफ्नो अमूल्य मतद्वारा विभेद र विद्वेशको बिरुद्ध तथा न्याय र समानताको पक्षमा मतदान गर्दै छन् । रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जस्तो इमिग्रेण्टविरुद्धको तुच्छ मानसिकता अमेरिकाको स्पिरिट (आस्था) कदापि होइन । ट्रम्प खूदकी श्रीमती पनि आप्रवासी हुन् भने उनका पूर्खा पनि त आप्रवासी नै हुन् । यो कुरा उनले भुल्नु हुँदैनथ्यो । तर, भीरमा लड्न लागेको गोरुलाई राम राम भन्न मात्र सकिन्छ, काँध थाम्न सकिदैन । सन् १९२० मा अर्थात आजभन्दा ९६ वर्षअघि मात्र अमेरिकी महिलाहरुले पुरुष सरह मतदान गर्न पाएका हुन् । राष्ट्रपति ओबामाले जस्तै हिलारीले पनि इतिहास रच्ने कुरा झनै सुनिश्चित बन्न पुगेको छ ।
अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।
Comments