राजनीति

भारतीय राष्ट्रपतिको स्वागतमा सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं– सरकारले भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो। भारतका राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणको आउने भएपनि सरकारले भारत र चीनका राष्ट्रप्रमुख आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

भारतीय राष्ट्रपति प्रणव मुखर्जी यही कात्तिक १७ गते नेपाल भ्रमणमा आउँदैछन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण भने टुंगो लागिसकेको छैन । यसअघि सार्क शिखर सम्मेलनको बेलामा पनि सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको थियो। सरकारले ट्राफिक व्यवस्थापनका लागि भन्दै सवारी साधनमा पनि जोरविजोर प्रणाली लागु गरेको थियो। 

त्यसैगरी मन्त्रीपरिषदको बैठकले नेपाल घरेलु तथा साना उद्योग विकास समितिको रिक्त अध्यक्षमा सिन्धुली झाँगाझोली निवासी दीपेन्द्र आचार्यलाई नियुक्त गरेको छ। यस्तै थानकोट–चित्लाङको गणेशमान मार्गको स्तरोन्नति गर्ने निर्णय सरकारले गरेको छ।

११ कार्तिक २०७३ ।