काठमाडौं– जापान भ्रमणमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले बुधबार जापानका विदेश राज्यमन्त्री किसी नोबुओसँग भेट गरेका छन्। विदेश राज्यमन्त्री नोबुओसँगको भेटमा थापाले नेपालमा भूकम्पपछि जापान सरकारले उद्धार, राहत र पुर्ननिर्माणमा पुर्याएको सहयोगको प्रशंसा गरेका थिए।
यसैगरी, थापाले भूकम्पपछिको पुनःनिर्माणको काम सुरु भइरहेको र थप निर्माणका लागि आगामी दिनमा पनि जापान सरकारको निरन्तर सहयोग र सद्भावको अपेक्षा रहेको बताएका थिए। पूर्व उपप्रधान एवं परराष्ट्रमन्त्री थापाले सन् २०२० मा जापानमा हुने ओलम्पिकका लागि संरचना निर्माण र कृषि क्षेत्रमा आवश्यक जनशक्ति नेपालबाट ल्याउन राज्यमन्त्री नोबुओलाई आग्रह गरेका थिए।
नेपाल जापान कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा जापानका प्रधानमन्त्रीको नेपाल भ्रमण होस् भन्ने नेपाली जनताको अपेक्षा रहेको थापाले राज्यमन्त्री नोबुओलाई जानकारी गराए। राज्यमन्त्री नोबुओले नेपालको आर्थिक विकासमा सहयोगी भूमिका निर्वाह गर्नका लागि जापान सरकार सदैव तत्पर रहेको प्रतिवद्धता व्यक्त गरेका थिए। उनले नेपालको संविधान कार्यान्वयन होस् भन्ने जापान सरकार र जापानी जनताको चाहना रहेको बताएका थिए। थापा पाँच दिने भ्रमणमा जापान पुगेका हुन्।
१२ असोज, २०७३ ।
Comments